Headline

दुई दिवसीय क्रिकेट आइतबारदेखि मुलपानीमा

Published

on

हिमालय स्पोर्टस म्यानेजमेन्ट प्रा. लि को आयोजनामा हुन गइरहेको हिमालय क्रिकेट लिग सोमबारदेखि मुलपानी क्रिकेट मैदानमा शुरु हुन गइरहेको छ ।

दुई हप्तासम्म चल्ने प्रतियोगितामा काठमाडौंका ६ क्रिकेट एकेडेमीहरुले सहभागिता जनाउनेछन् । प्रतियोगिताअघि आयोजकले आफूले सम्पुर्ण तयारी पुरा भइरहेको जानकारी दिएको छ । नेपालको घरेलु पुरुष क्रिकेटमा यो पहिलो दुई दिने क्रिकेट प्रतियोगिता हो । अण्डर १९ प्रतियोगितालाई अर्किड इन्टरनेशनल कलेज प्रायोजन गरेको छ ।

लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा काठमाडौं क्रिकेट ट्रेनिङ्ग सेन्टर (केसिटीसी), वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडमी, हिमालय क्रिकेट एकेडमी, ओसिस क्रिकेट एकेडेमी, बालुवादार क्रिकेट क्लब र नेक्सस क्रिकेट एकेडमीले सहभागिता जनाउन गइरहेका छन् ।

सहभागि टोलीहरुलाई दुई समुहमा बिभाजन गरिएको छ । समुह ए मा केसिटीसी, बालुवाटार र ओसिस रहेका छन् । राउण्ड रोबिन लिगपछि प्रत्येक समुहबाट पहिलो स्थान हासिल गर्ने टोलीले सिधै फाइनल खेल्नेछन् । फाइनल फागुन १८ र १९ गते हुनेछ ।

उपाधि बिजेताले नगद रु १ लाख ५० हजार प्राप्त गर्नेछ भने दोश्रो हुने टोलीले ७५ हजार प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट खेलाडी, ब्याट्स्म्यान, बलर र उदीयमान खेलाडीलाई पनि परस्कारको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।

वाई वाई ग्रेट हिमालय क्रिकेट एकेडेमीका अध्यक्ष सुदिप शर्माले प्रतियोगिताले युवा खेलाडीहरुलाई लामो संरचनाको क्रिकेटमा अभ्यस्त हुन मद्दत गर्ने बताए । “युवा क्रिकेटरहरुलाई यस्तो संरचनामा खेलाउदा उनीहरुको प्रतिभामा निखार आउने बिश्वास छ । यो एउटा शुरुवात मात्रै हो । अब यसपछिका संस्करणमा कसरी अगाडी बढ्ने भन्ने पनि स्पष्ट हुन्छ,” शर्माले भने ।

दुई दिवसीय क्रिकेट अन्तर्गत दुवै टोलीलाई पहिलो इनिङ्गसमा ६० ओभरसम्म खेल्न पाउनेछन् भने दोश्रो इनिङ्गसमा बन्देज लगाइने छैन । प्रत्येक जितका लागि १० अंक दिइनेछ भने बराबरी भएको स्थितिमा दुवै टोलीले पाँच अंक पाउनेछन् ।

यस्तै प्रत्येक विकेटका लागि ०.५ अंक दिइनेछ भने ब्याटिङ्गतर्फ प्रत्येक एक सय रनको १ बोनस अंक र त्यसपछि बनेका प्रत्येक २५ रनका लागि थप १ अंक प्रदान गरिनेछ । सबै खेल बराबरीमा सकिएको खण्डमा प्राप्त बोनस अंकले नै निर्णायक भुमिका खेल्न सक्छ ।

Click to comment

Trending