Headline

मच्छिन्द्रलाई हराएरै लिगमा इतिहास रच्न चाहन्छ आर्मी

Published

on

आदर्श ढकाल, ललितपुर

शहीद स्मारक ए डिभिजन लिगले शनिबार नयाँ च्याम्पियन दिन गइरहेको छ । २०६० साल देखि लिग खेल्न थालेको त्रिभुवन आर्मी क्लब र त्यो भन्दा अझै पुरानो इतिहास बोकेको मच्छिन्द्र मध्ये एकले पहिलो पटक उपाधि जित्न गइरहेको छन् ।

तर आर्मी ड्राइभिङ सिटमा छ । २९ अंकका साथ शिर्ष स्थानमा रहेको आर्मीलाई बराबरी खेले पर्याप्त हुनेछ । मच्छिन्द्रलाई भने जितको बिकल्प छैन । अघिल्लो सिजन चौथो स्थानमा सक्काएको आर्मी २०६३ सालपछि लिग उपाधिको सबैभन्दा नजिक रहेको छ । त्यो सिजन यही स्थितिमा रहेको आर्मी फाइनल सरह अर्को खेलमा नेपाल पुलिस क्लबसँग पराजित हुन पुगेको थियो ।

आर्मीका लागि इतिहास फर्किएको छ तर आफ्नै टोली र बिपक्षीमा आकाश जमिनको फरक छ । अन्य टिमको तुलनामा आर्मी लिगकै सबैभन्दा सशक्त टिम हो भन्दा फरक नपर्ला ।

राष्ट्रिय टोलीको दोश्रो रोजाइको गोलकिपर बिकेश कुथु र रक्षापंिक्तमा पिल्लरको रुपमा अघि आएका बिकास खवाससँगै, सुमन अर्याल, बिकास तामाङ र दिपक गुरङ, मिडफिल्डमा सन्तोष तामाङ र सेसेहाङ आङ्गदेम्बेसँगै अग्रपक्तिंमा जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ र कप्तान खवासको उपस्थितिले आर्मीलाई निकै बलियो बनाएको छ ।

मच्छिन्द्रमा घरेलु फुटबलमै नाम चलेका खेलाडी छन् तर लामो समयदेखि सँगै खेल्दै आएकै कारण आर्मीमा मनोबल उच्च छ । त्यही मनोबल आर्मीका प्रशिक्षक नविन न्यौपाने र कप्तान भरतमा पनि देखिन्छ ।

“हामी इतिहास रच्ने दाउमा छौं । मच्छिन्द्रको टिम राम्रो छ तर हाम्रो बलियो पक्ष भनेको पावर र स्पिड गेम हो । हामी त्यसमा बढी केन्द्रित रहनेछौं । हामी सबै जनाको लिग शुरु भए देखिको लक्ष्य नै उपाधि जित्नु हो । हामीलाई बराबरी पर्याप्त छ तर हामी ड्रको लागि मात्रै खेल्दैनौं । जितेर नै उपाधि उचाल्ने लक्ष्य साथ मैदानमा उत्रने छौं,” आर्मीका प्रशिक्षक नविनले फाइनल अघि भने ।

नविन यो लिगमा आफ्नो टोलीले सबैभन्दा उत्कृष्ट खेल मनाङ मस्र्याङ्गदी क्लबसँग १–० ले हार्दा देखाएको मान्छन् । केही अनपेक्षित बराबरीले आफ्नो टोलीको मनोबलमा अन्तिम खेल अगाडी केही फरक नपरेको बताउने नविन मच्छिन्द्र बिकल्प बिहिन रहनु नै उनको टोलीको लागि राम्रो भएको बताउछन् ।

“अघिल्लो सिजन भन्दा हाम्रा केटाहरुले यसपटक बढी मिहिनेत गरेका छन् । मच्छिन्द्रलाई जितबाहेक अन्य कुनै बिकल्प छैन । उनीहरुले आक्रमण गर्नै पर्ने हुन्छ र यसले हाम्रो लागि मौका बन्न सक्छ । हाम्रो केटाहरु काउन्टर एट्याकमा गोल गर्न सक्षम छन्,” उनले भने ।

यस पटकको लिगमा औषत प्रदर्शन गरेका कप्तान भरतको सामु आर्मीलाई लिग उपाधि दिलाउने ठूलो अवसर छ । त्यसैले उनी आफ्नो टोलीको मनोबल उच्च राख्न चाहन्छन् ।

“हाम्रो लागि भोलि (शनिबार) को दिन बिशेष छ । मच्छिन्द्र राम्रो टोली हो, स्वदेशी र बिदेशी खेलाडीहरु निकै राम्रा छन् । तर खेलाडीको रुपमा मैले बराबरीको बारेमा सोचेको पनि छैन । हामी जितका लागि नै खेल्नेछौं । लिग जित्नु पर्ने दवाब भन्दा पनि यो हाम्रो लागि इतिहाहस जित्ने मौका हो,” भरतले भने ।

Click to comment

Trending