ए डिभिजन लिग

जाउलाखेलको शेर्पासँग उत्कृष्ट पुनरागमन

Published

on

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले उत्कृष्ट पुनरगमन गरे सँगै हिमालयन शेर्पा क्लबसँग बराबरी खेल्दै अंक बाडेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार जावलाखेल र शेर्पाले ३-३ गोलको रोमान्चक बराबरी खेलेका हुन् ।

जावलाखेलका लागि कुबेर बिष्ट, फोडे फोफाना र रुप बहादुर लामाले एक एक गोल गरे । शेर्पाका स्टेफेन समिरले दुई गोल गर्दा विजय श्रेष्ठले एक गोल गरे ।

खेलमा सुरुवाती अग्रता भने शेर्पाले बनाएको थियो । पाँचौं मिनेटमा स्टेफेनले गोल गर्दै शेर्पालाई सुरुवाती अग्रता दिलाए । २६ औं मिनेटमा विजयले गोल गर्दै शेर्पालाई २-० को अग्रता दिलाए ।

खेलको ३५ औं मिनेटमा जावलाखेल १० खेलाडीमा सिमित भयो । जावलाखेलका गोलरक्षक अरुण ब्लोनले रातो कार्ड पाएपछि जावलाखेल १० खेलाडीमा समेटिएको थियो । काउन्टरमा आएको बललाई डिबक्स बाहिर समातेपछी रेफ्री प्रकाश नाथ श्रेष्ठले अरुणलाई सिधै रातो कार्ड देखाएका थिए । पहिलो हाफको इन्जुरी समयमा जावलाखेलका कुबेरले गोल गर्दै खेल २-१ मा ल्याएका थिए । त्यसको केहि मिनेटपछि स्टेफेनले व्यक्तिगत दोस्रो गोल गर्दै शेर्पालाई: ३-१ को अग्रता दिलाए ।

दोस्रो हाफमा भने जावलाखेलले उत्कृष्ट पुनरागमन गर्यो । खेलको ६० औं मिनेटमा फोफानाले हेड गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए ।

खेलको ६८ औं मिनेटमा शेर्पा पनि १० खेलाडीमा समेटियो । उसका निरज बस्नेत जावलाखेलका कुबेरलाई खराब ट्याकल गरेपछि दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । त्यसपछि पाएको फ्रिकिकमा रुप बहादुरले ७० औं मिनेटमा उत्कृष्ट गोल गर्दै खेल ३-३ को बराबरीमा ल्याउदै जावलाखेलको हार टारेका थिए ।

बराबरीसँगै जावलाखेलले १२ खेलमा १९ अंक जोडेर पाचौँ स्थानमा यथावत रहेको छ भने लिगको १२ खेलमा ११ जोडेको शेर्पा ११ औं स्थानमा रहेको छ ।

Click to comment

Trending