Headline

किर्तिमान रच्दै नेपालको अमेरिकाबिरुद्ध शान्दार जित

Published

on

नेपालले आईसिसि क्रिकेट बिश्वकप लिग टुमा अमेरिकामाथि ८ विकेटको शान्दार जित हात पारेको छ ।

अमेरिकालाई एकदिवसीय अन्तर्राष्ट्रिय इतिहासकै सानो योगफलमा समेट्ने क्रममा ३५ रनमै अल आउट पारेको नेपालले ६ ओभरभित्रै जित हात पारेको थियो । ओपनद्वय ज्ञानेन्द्र मल्ल र सुभाष खकुरेललाई दुई रनमै गुमाएपनि पुर्व कप्तान पारस खड्का र दिपेन्द्र सिँह ऐरिले ३४ रनको साझेदारी गर्दै सहज जित दिलाएका थिए ।

नेपालले ५ दशमलव २ ओभरमै खेल जितेको थियो । पारसले १२ बलमा तीन चौका र एक छक्का सहित २० र दिपेन्द्रले ११ बलमा दुई चौका र एक छक्काको मद्दतमा १८ रन बनाए । अमेरिकाको लागि दुवै विकेट नोस्थस केन्जिगेले लिएका थिए ।

लिग टुमा नेपालको दुवै जित अमेरिकाबिरुद्ध रहेको छ । यसअघि लेग स्पिनर सन्दिप लामिछानेले ६ र बाया हाते स्पिनर सुशन भारीले चार विकेट अमेरिका १२ ओभरमा ३५ रनमै समेटिएको थियो । सन् २००४ मा जिम्बाब्वे श्रीलंकासँग ३५ रनमै समेटिएको थियो । जिम्बाब्वे १८ ओभरमा अल आउट भएको थियो ।

किर्तिमानले भरिपूर्ण खेलमा सन्दिपले नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय कै सबैभन्दा सफल बलिङ्ग प्रदर्शन गरे । सन्दिपले ६ ओभरमा १६ रन खर्चदै ६ विकेट लिएका थिए । यस्तै भारीले तीन ओभरमा पाँच रन खर्चदै चार विकेट लिए ।

अमेरिकाको लागि ओपनर जेभियर मार्सलले सर्वाधिक १६ रन बनाएका थिए । सन्दिपले गरेको १२ औं ओभरमा अक्षय होमराजको ब्याटबाट विकेट किपर बिनोद भण्डारीको खुट्टामुनि बाट चौका गएको थियो । त्यो बल चौका नगएको खण्डमा अमेरिकाकै योगफल सबैभन्दा न्युनतम हुने थियो ।

Click to comment

Trending