Headline

भरतको ५० औं गोलपछि आर्मी र मच्छिन्द्र उपाधि भिडन्तमा

Published

on

भरत खवासले शहीद स्मारक ए डिभिजन लिगमा आफ्नो ५० औं गोल पुरा गर्दा त्रिभुवन आर्मी क्लबले फराकिलो जितसँगै मच्छिन्द्र क्लबसँग उपाधि भिडन्त पक्का गरेको छ ।

आर्मीले मङ्गलवार बिहान भएको खेलमा ब्रिगेड बोइज क्लबलाई ३–० गोलको फराकिलो अन्तरले पराजित गर्यो । जितसँगै आर्मी र मच्छिन्द्रबीच हुने लिगको अन्तिम दिनको खेलले नै उपाधिको छिनोफनो गर्नेछ । आर्मीलाई पहिलो उपाधि उचाल्नका लागि बराबरी पनि पर्याप्त हुनेछ ।

आर्मीको २९ र मच्छिन्द्रको २८ अंक रहेको छ । आर्मीको जितसँगै मनाङ मस्र्याङ्गदी क्लबको झिनो आशा पनि समाप्त भएको छ । डिफेन्डिङ्ग च्याम्पियन मनाङको दुई खेल खेल्न बाकी रहेको स्थितिमा २२ अंक रहेको छ । यस्तै थ्रि स्टारको २० र जावलाखेल युथ क्लबको १८ अंक रहेको छ ।

मङ्गलवारको पहिलो खेलमा भरतले पाचौं मिनेटमै आर्मीलाई अग्रता दिलाएका थिए । जर्ज प्रिन्स कार्कीको सटिक क्रसलाई उनले हेडर मार्फत गोल गर्दै ५० गोलको कोशढुँगा पुरा गरेका थिए । भरत लिगमा ५० गोल पुरा गर्ने सातौं खेलाडी हुन् ।

आर्मीले पहिलो हाफ भरि ब्रिगेडलाई दवाबमा राखेपनि गोल अन्तर बढाउन सकेको थिएन । दोश्रो हाफ शुरु भएको ९ मिनेटमा नै सन्तोष तामाङको पासमा बिकास तामाङले गोल गरेपछि आर्मीको अग्रता दोब्बर भयो । अन्तिम गोल टेक बहादुर बुढाथोकीले ७० औं मिनेटमा गरेका थिए ।

Click to comment

Trending