Headline

अञ्जनको दुई गोलमा मनाङ्गको एनआरटी माथि फराकिलो जित

Published

on

अञ्जन बिष्टले दुई गोल गरेपछि शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङ्गदी क्लब अंक तालिकाको तेश्रो स्थानमा उक्लिएको छ ।

एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङ्गले न्युरोड टिम (एनआरटी) लाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको छ । बिमल राना गोलबाट शुरुवाती अग्रता लिएको मनाङ्गका लागि दयानन्द सिँहले चौथो गोल गरेका थिए । एनआरटीका लागि खेलेको एक मात्र गोल सकल रेग्मीले गरेका थिए ।

जितपछि मनाङको २२ अंक भएको छ भने उपाधि होडमा अझै पनि गणितीय हिसाबमा कायमै रहेको छ । लिगमा मात्र दुई खेल बाकी रहेको स्थितिमा त्रिभुवन आर्मी क्लब शिर्ष स्थानमा रहेको छ । आर्मीको २६ अंक रहेको छ भने दोश्रो स्थानमा रहेको मच्छिन्द्रको २५ अंक छ ।

मनाङले लिग उपाधि रक्षा गर्नका लागि आफूले बाकी रहेका दुई खेल जितेर मात्र पुग्दैन । उसका लागि आर्मीले १२ औं चरणमा ब्रिगेड बोइजसँग र मच्छिन्द्रले संकटासँग हार्नु पर्ने त छ नै साथ साथै दुई टोलीबीचको अन्तिम खेल बराबरीमा सकिनुपर्नेछ । हारपछि एनआरटी १५ अंकसहित आठौं स्थानमा कायम रहेको छ ।

आइतबार मनाङ्गले अग्रताका लागि ३५ मिनेटसम्म कुर्नु परेको थियो । कमल श्रेष्ठको असिस्टमा बिमलले गोल गर्दै खाता खोलेका थिए । त्यसको ८ मिनेटपछि नै अञ्जनलाई डि बक्सभित्र लडाएपछि मनाङ्गले पेनाल्टी पाएको थियो । अञ्जनले सहजै गोल गर्दै मनाङको अग्रतलाई दोब्बर बनाएका थिए ।

मनाङले दोश्रो हाफमा पनि आफ्नो दबदबालाई कायमै राख्यो । अञ्जनले दोश्रो र टिमको तेश्रो गोल गर्दै मनाङको जितलाई सुनिश्चित पारेका थिए । सकलले ८९ औं मिनेटमा सशक्त प्रहार गर्दै दुरी छोट्याएका थिए । भिडाल लुईसको असिस्ट थपिएको अतिरिक्त समयको चौथा मिनेटमा दयानन्दले गोल गरेपछि मनाङले फराकिलो जित हात पार्यो ।

Click to comment

Trending