Headline

ओमानको फराकिलो जित, नेपाल फेरि चुक्यो

Published

on

आरिफ शेखले जीवनदान दिएपछि आकर्षक शतक पुरा गर्दै अकिब इल्यासले ओमानलाई आईसिसि क्रिकेट बिश्वकप लिग टु को शिर्ष स्थानमा पुर्याएका छन् ।

त्रिवि मैदानमा नेपाल आइतबार ओमानसँग ८ विकेटको फराकिलो अन्तरले पराजित भयो । सातौं जितपछि ओमान १४ अंक सहित अंक तालिकाको शिर्ष स्थानमा पुगेको छ । अमेरिका १२ अंक सहित दोश्रो स्थानमा रहेको छ भने नेपालले तीन मध्ये एक खेल मात्र जित्दै छैटौं स्थानमा कायमै रहेको छ ।

ओमानको जितमा इल्यास नायक रहे । उनले चार विकेट लिएपछि नेपाल ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ४९ रनमा रोकिएको थियो । जवाफमा इल्यासले कप्तान जिसान मक्सुदँग शतकीय साझेदारी गर्दै ओमानलाई ४७ दशमलव २ ओभरमै सहज जित दिलाए । ७ बर्षपछि ओमानलाई पराजित गर्ने मौकामा नेपाल आफ्नै भुमिमा पनि चुकेको छ ।

सामान्य शुरुवात गरेको ओमानलाई जतिन्दर सिँह (२३) र खावर अलिले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरेका थिए । सुशन भारीको बलमा बोल्ड हुनुअघि खावरले ५६ बलमा ६ चौकाको मद्दतमा ४१ रन बनाएका थिए । नेपालले ओमानलाई दवाबमा राख्ने सुनौलो मौका पाएको थियो तर आरिफले इल्यासको सहज क्याच पोइन्टमा छोडिदिएका थिए ।

त्यसपछि ओमानलाई जित दिलाउनका लागि इल्यास र कप्तान जिसान मक्सुुदले शान्दार शतकीय साझेदारी गरेका थिए । उनीहरुले तेश्रो विकेटका लागि नटआउट १ सय ६७ रनको पार्टनरशिप गरेका थिए । म्यान अफ द म्याच इल्यासले १ सय ८ बलमा १ सय ९ रन बनाए । मक्सुदले ७८ बलमा ८ चौकाको मद्दतमा ६८ रन बनाए ।

यसअघि टस हारी पहिलो ब्याटिङ्ग गरेको नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र सुभाष खकुरेलले ४८ रनको साझेदारी गरेका थिए । सुभाषले ४२ बलमा २२ रन बनाए । त्यसपछि ज्ञानेन्द्रले पारस खड्कासँग दोश्रो विकेटका लागि ५९ रनको साझेदारी गरे । पारसले ३४ बलमा ६ चौका र एक छक्काको मद्दतमा ३८ रन बनाए ।

नेपालले एकै ओभरमा पारस र दिपेन्द्र सिँह ऐरिलाई गुमाएको थियो । ज्ञानेन्द्र दोश्रो एकदिवसीय अन्तर्राष्ट्रिय अद्र्धशतक प्रहार गरे लगत्तै आउट भएका थिए । उनले ७६ बलमा ६ चौका र एक छक्का प्रहार गरे । त्यसपछि आरिफ शेख, कुशल मल्ल र बिनोद भण्डारी सबैले योगदान दिएपछि नेपाल २ सय ५० नजिक पुगेको थियो ।

भण्डारीले ४७ बल खेल्दै पाँच चौकाको मद्दतमा ३५ रन बनाए । आईतबार पनि आकर्षक खेल खेलेका कुशलले २४ बलमा दुई छक्का र दुई चौका हिर्काउदै २८ रन बनाए । आरिफले ४५ बलमा २८ रन बनाए ।

Click to comment

Trending