Headline

नेपाललाई क्रिकेट बिश्वकप लिग टुमा पहिलो जित

Published

on

कुशल मल्लले बिश्व किर्तिमानी र बिनोद भण्डारीले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय अद्र्धशतक प्रहार गरेपछि नेपालले आईसिसि क्रिकेट बिश्वकप लिग टु मा जितको खाता खोलेको छ ।

त्रिवि क्रिकेट मैदानमा नेपालले शनिबार भएको खेलमा अमेरिकालाई ३५ रनले पराजित गर्दै जितको खाता खोलेको हो । टस हारि पहिलो ब्याटिङ्ग गरेको नेपाललाई कुशल र भण्डारीले जोगाएपछि ४९ दशमलव दुई ओभरमा अल आउट हुदै १ सय ९० रन बनायो । ६५ रनमै सात विकेट गुमाएपनि इयान होल्याण्डले राम्रो पारि खेल्दै घरेलु समर्थकको ढुकढुकी केही बढाएपनि नेपालले अमेरिकालाई ४४ दशमलव एक ओभरमा १ सय ५५ रनमा समेटेको थियो ।

जितपछि नेपालको लिग टु तालिकामा दुई अंक जोडिएको छ भने छैटौं स्थानमा कायम नै रहेको छ । करण केसी, लेग स्पिनर सन्दिप लामिछाने र सुशन भारीले दुई–दुई विकेट लिएपछि अमेरिकाले ६५ रनमै सात विकेट गुमाएको थियो । अर्को विकेट कुशलले लिएका थिए ।

होल्याण्डले त्यसपछि अमेरिकी इनिङ्गस सम्हाल्ने क्रममा आठौंं विकेटका लागि क्यामरुन स्टेभेन्सन (१९) सगँ ४९ र रस्टी थेरोनसँग ३० रनको साझेदारी गर्दै नेपाललाई जितबाट टाढा राखेका थिए । ४१ ओभरमा करणको बाउन्सरमा हल्याण्ड विकेट पछाडी समातिएपछि नेपालले राहतका सास फेरेको थियो ।

होल्याण्डले १ सय ११ बलमा सात चौकाको मद्दतमा ७५ रन बनाए । नेपालका लागि करणले चार, र भारीले तीन विकेट लिएका थिए । कसिलो बलिङ्ग गरेका सन्दिपले १० ओभरमा दुई मेडन राख्दै २७ रन खर्चेर दुई विकेट हात पारे ।

यसअघि शुरुवाती ब्याट्स्म्यानहरुले निराशाजनक प्रदर्शन गरेपछि नेपालले ४९ रनमै पाँच विकेट गुमाएको थियो । तर भण्डारी र कुशलले ८४ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक योगफलतर्फ डो¥याएका थिए ।

कुशल आफ्नो डेब्युमै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा अद्र्धशतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका हुन् । यस क्रममा उनले आफ्नै देशका रोहित कुमार पौडेलको किर्तिमानलाई तोडेका थिए । शनिबार झण्डै १५ हजार दर्शकको अगाडी कुशल रोहितको स्थानमा नै खेल्न आएका थिए ।

रोहितले जनवरी २०१९ मा युएईबिरुद्ध भएको दोश्रो एकदिवसीय खेलमा अद्र्धशतक पुरा गर्दै भारतीय लिजेण्ड सचिन तेन्दुल्कर र शहीद अफ्रिदीको किर्तिमान तोडेका थिए । रोहितको उमेर १६ बर्ष १ सय ४६ दिन रहेको थियो ।

कुशलले शनिबार अद्र्धशतक पुरा गर्दा १५ बर्ष ३ सय ४० दिनको भएका छन् । इतिहास कायम गर्ने क्रममा कुशललाई भाग्यले पनि साथ दिएको थियो । उनी ३८ रनमा रहेको स्थितिमा मोनांक पटेलले मिड अनमा सहज क्याच ड्रप गरेका थिए ।

लगत्तै टियु मैदानमा दर्शकहरुले पटेल, पटेल भन्दै हुटिङ्ग पनि गरेका थिए । कुशलले नेपालका लागि गत दशैमा सिँगापुरमा भएको ट्वान्टी ट्वान्टी ट्राई सिरिजमा जिम्बाब्वेबिरुद्ध डेब्यु गरेका थिए ।

कुशल पेभिलियन फर्किएपछि भण्डारीले पनि पाचौं एकदिवसीय अन्तर्राष्ट्रियमा अद्र्धशतक पुरा गरे । उनले ६२ बलमा अद्र्धशतक पुरा गरेका थिए । ५९ रनमा आउट भएका भण्डारीले ६ चौका र एक छक्का प्रहार गरेका थिए । शनिबार निकै आक्रमक खेलेका कुशलले ५१ बलमा चार चौका र तीन छक्काको मद्दतमा ५० रन बनाए ।

खेलमा कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्काबीच दोश्रो विकेटका लागि ४० रनको साझेदारी बाहेक नेपालले खासै केही गर्न सकेको थिएन । सुभाष खकुरेल (तीन) लाई चौथो ओभरमा गुमाएपछि पारस र ज्ञानेन्द्रले नेपाललाई सम्हाल्ने प्रयास गरेका थिए ।

तर नेपालले त्यसपछि तीन रनको अन्तरमा चार विकेट गुमाउन पुग्यो । ज्ञानेन्द्रले ३९ बलमा चार चौकाको मद्दतमा २१ रन बनाएका थिए भने पारस १९ रनमा पेभिलयन फर्केका थिए । उनले ५२ बलमा दुई चौका प्रहार गरे ।

Click to comment

Trending