Headline

सन्तोषले दुई गोल गरेपछि आर्मी एपिएफबिरुद्ध बिजयी

Published

on

सन्तोष तामाङले दुई गोल गरेपछि शहीद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लब नेपाल एपिएफ क्लबलाई २–१ ले पराजित गर्दै शिर्ष स्थानमा फर्किएको छ ।

मच्छिन्द्र क्लब सरस्वतीलाई पराजित गर्दै शिर्ष स्थानमा पुगेको केही घण्टा मै आर्मी पहिलो स्थानमा फर्किएको हो । लिगमा दुवै टोलीको दुई अंक बाकी रहदा आर्मीको २६ अंक भएको छ भने मच्छिन्द्रको २५ अंक रहेको छ । लिगको अन्तिम खेलमा दुई टोली एकआपसमा भिड्नुअघि आर्मीले आफ्नो १२ औं खेलमा ब्रिगेड बोइज क्लब र मच्छिन्द्रले संकटासँग खेल्नेछ ।

दुवै टोलीले अबको खेल जितेको खण्डमा आर्मी र मच्छिन्द्रको अन्तिम खेलले नै उपाधि बिजेताको छिनोफानो गर्नेछ । आर्मीलाई भने बराबरीले पनि आफ्नो घरेलु फुटबल इतिहासमा पहिलो लिग उपाधि दिलाउनेछ ।

खेलमा आर्मी नै हावी भएको थियो । १५ औं मिनेटमा रमेश दँगालले भरत खवासलाई डि बक्सभित्र लडाएपछि आर्मीले पेनाल्टी पाएको थियो । सन्तोषले प्रहार गरेको पेनाल्टीलाई एपिएफका किपर राजु योगीले रोकेपनि रिबाउन्डमा गोल गर्न सफल भएका थिए ।

२७ औं मिनेटमा आशिष लामाको उत्कृष्ट फ्रि किकलाई बिकेश कुथुले उति नै उत्कृष्ट ढँगले बचाएका थिए । ३३ औं मिनेटमा भरत खवासको क्रसलाई जर्ज प्रिन्स कार्कीले भेट्टाए पनि उनको हेडर पोस्टमा लाग्न पुगेको थियो । लगत्तै टंक बस्नेतको लामो प्रहारलाई राजुले बचाए ।

३७ औं मिनेटमा रमेशको हेडर असिस्टमा आशिषले पोस्टको दिशा दिदै एपिएफलाई खेलमा फर्काएका थिए । ४१ औ मिनेटमा सन्तोषको लामो दुरीको प्रहार गोलमा परिणत भएपछि आर्मीले पहिलो हाफमा अग्रतााई कायम राखेको थियो ।  दोश्रो हाफमा दुवै टोलीले केही अवसरहरु सृजना गरेपनि गोल भने हुन सकेन ।

Click to comment

Trending