Headline

नेपाल ओमानसँग पराजित, नयाँ ओपनिङ्ग जोडी पनि चलेन

Published

on

नेपाल आईसिसि क्रिकेट बिश्वकप लिग टु अन्तर्गतको ट्राइ सिरिजको पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएको छ ।

नयाँ ओपनिङ्ग जोडी पारस खड्का र ज्ञानेन्द्र मल्ल नचल्दा नेपाल ओमानलाई दुई सय रनभित्र रोक्दा रोक्दै पनि पराजित हुन पुग्यो । टस जिती पहिलो फिल्डिङ्ग रोजेको नेपालले ओमानलाई ५० ओभरमा ९ विकेटको क्षतिमा १ सय ९७ रनमा रोकेको थियो । जवाफमा नेपाल ४६ दशमलव चार ओभरमा एक सय ७९ रनमा सिमित भयो ।

कप्तान ज्ञानेन्द्र मल्ल र पुर्व कप्तान पारस खड्का सस्तैमा पेभिलियन फर्किएपछि स्तब्ध बनेको त्रिवि मैदानमा शरद भेषावकर र दिपेन्द्र सिँह ऐरिले संयमतापुर्वक खेलेका थिए । सुस्त शुरुवात गरेको नेपालले ज्ञानेन्द्रलाई एक र पारसलाई तीन रनमा गुमाएको थियो ।

आकर्षक खेलेका दिपेन्द्रले पाँच चौका र एक छक्का प्रहार गर्दै ५७ बलमा ३६ रन बनाए । आरिफ शेख र रोहित कुमार पौडेल पनि जम्न नसकेपछि शरदले बिनोद भण्डारीसँग ४३ रन जोडेका थिए । भण्डारीले २५ बलमा २६ रन बनाए । उनले दुई चौका र एक छक्का प्रहार गरे ।

पहिलो एकदिवसीय अद्र्धशतक पुरा गरेका शरदले अकिब इल्यासको बलमा बोल्ड हुनुअघि १ सय ८ बलमा ५५ रन बनाए । उनले ६ चौका हिर्काए । नेपालको लागि सन्दिप लामिछानेले २७ बलमा २८ रन बनाएका थिए । उनले तीन चौका र एक छक्का प्रहार गरे ।

शरद र सन्दिपले नवौं विकेटका लागि ३८ रनको साझेदारी गर्दै नेपालको आशा जोगाएर राखेका थिए । ओमानका लागि जिसान मक्सुदले तीन विकेट लिएका थिए । यस्तै बिलाल खान र कलिमुल्लाहले दुई–दुई विकेट लिएका थिए ।

पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय खेलिरहेका भारीले कसिलो बलिङ गर्दै तीन विकेट लिएपछि ओमान सामान्य योगफलमा समेटिएको थियो । भारीले दस ओभरमा मात्र १४ रन खर्चिदै ३ विकेट लिएका थिए । उनले ओमानका कप्तान जिसान मक्सुद र सुरज कुमारलाई तीन बलको अन्तरमा पवेलियन फर्काएका थिए भने ३३ रन बनाएका सन्दिप गाउडलाई स्टम्पिङ गराएका थिए ।

करण केसीले नेपालका लागि सर्वाधिक ४ र दीपेन्द्र सिंह एरीले १ विकेट लिए । ओमानका लागि सर्वाधिक रन बनाउने क्रममा महमन्द नदिमले ६९ रन प्रहार गरे। उन्ले ९६ बलमा ५ चौका र २ छक्का प्रहार गरे ।

1 Comment

Trending