Headline

नवयुग चम्किएपछि बिभागीय डर्बिमा आर्मीको रोमाञ्चक जित

Published

on

नेपाल पुलिससँगको रोमाञ्चक बिभागीय डर्बिमा नवयुग श्रेष्ठ चम्किएपछि त्रिभुवन आर्मी क्लब शहीद स्मारक ए डिभिजिन लिगमा पुन अग्रस्तानमा उक्लिएको छ ।

दशरथ रंगशालामा भएको दोश्रो खेलमा दुई पटक पछि परेको स्थितिलाई उल्टाउदै आर्मीले लिगकै उत्कृष्ट मध्येको एक खेलमा ४–२ को सनसनीपूर्ण जित निकाल्यो । बुद्ध बल तामाङको गोलबाट पुलिसले अग्रता लियो तर पहिलो हाफ सकिनु अघि सुमन अर्यालले आर्मीलाई खेलमा फर्काएका थिए ।

दोश्रो हाफमा मान बहादुर परिहारले गोल गरेपछि फेरि अग्रता लिएको पुलिसलाई नवयुगले आठ मिनेटको अन्तरमा दुई गोल गर्दै स्तब्ध बनाए । सुदिल राइले निर्धारित समय भन्दा एक मिनेट अगाडी अर्को गोल थपेपछि आर्मीको जित सुनिश्चित बनेको थियो ।

जितपछि आर्मी १० खेलबाट २३ अंकसहित पहिलो स्थानमा फर्किएको छ भने दोश्रोमा झरेको मच्छिन्द्र क्लबको २२ अंक रहेको छ । एक खेल कम खेलेको मनाङ्ग मस्र्याङ्गदी क्लबको १९ अंक छ । दिनको पहिलो खेलमा संकटाले जित हात पारेपछि पुलिस १० खेलमा १४ अंकसहित सातौं स्थानमा धकेलिएको छ ।

छैटों मिनेटमा निरकुमार राइको सशक्त प्रहारलाई बिकेश कुथुले बचाएका थिए । त्यसको ८ मिनेटपछि नवयुग श्रेष्ठ पोस्ट नजिकबाट गोल गर्न चुकेपछि आर्मीले अग्रता लिने मौका गुमाएको थियो । पुलिसको गोलमा निर प्रत्यक्ष रुपमा संलग्न थिए ।

२० औं मिनेटमा उनले प्रहार गरेको फ्रि किकलाई बुद्ध बल तामाङले सशक्त हेडरमार्फत पोस्टको दिशा दिएका थिए । आर्मीले पनि त्यही तरिकाले खेलमा बराबरी गरेको थियो । ३४ औं मिनेटमा सुमन अर्यालले फ्रि किकलाई बललाई हेडिङ्ग गर्दै आर्मीलाई खेलमा फर्काएका थिए । पहिलो हाफअघि आर्मीले दुई सुन्दर मौका गुमाएको थियो ।

भरत खवासले डि बक्सभित्रै सुन्दर पास निकालेपनि जर्ज प्रिन्स कार्कीले राम्रो टच दिन असफल रहेका थिए । लगत्तै भरतले नै प्रहार गरेको बल अलिकतिले मात्रै बाहिरिएपछि पहिलो हाफ बराबरीमा टुङ्गिन पुग्यो ।

पुलिसको दोश्रो गोलमा एकपटक फेरि निर नै संलग्न थिए । उनले प्रहार गरेको कर्नरमा मान बहादुर परिहारले हेड गर्दै फेरि पुलिसलाई अग्रता दिलाएका थिए । बिकेशले भरत शाहको प्रहार गरे लगत्तै दुई मिनेटपछि नवयुगले सुन्दर हेडरमार्फत गोल गर्दै आर्मीलाई खेलमा फर्काएका थिए । ८५ औं मिनेटमा नवयुगले डि बक्सको ठ्याक्कै बाहिरबाट सशक्त प्रहार गर्दै आर्मीलाई जित उन्मुख गराएका थिए ।

८९ औं मिनेटमा सुदिलले पेनाल्टी बक्सभित्रबाट गोल गरेपछि आर्मीले शिर्ष स्थानमा फेरि कब्जा जमाउन पुग्यो ।

Click to comment

Trending