Headline

ब्रिगेडलाई पराजित गर्दै एनआरटी चौथोमा उक्लियो

Published

on

ब्रिगेड बोइज क्लबलाई २–० ले पराजित गर्दै एनआरटी शहीद स्मारक ए डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ ।

बिहिबार दशरथ रँगशालामा भएको खेलमा एनआरटीका लागि दुवै गोल राजेश परियारले गरेका थिए । एनआरटीको जितले थ्रि स्टार क्लब पाचौं स्थानमा धकेलिएको छ । समान ९ खेल खेलेको एनआरटीको १५ र थ्रि स्टारको १४ अंक रहेको छ । गत बर्ष लिगको पछारमा भएपछि यो संस्करण एनआरटीले दुई अंक गुमाएर खेलेको थियो ।

पाँच खेल बाकी रहेको स्थितिमा एनआरटी पनि अब प्रतियोगिताको दाबेदारीका लागि अघि बढेको छ । यद्दपी एनआरटीका लागि पहिलो तीन स्थानमा रहेका टोलीहरुको अन्य खेलले पनि महत्व राख्नेछ ।

अंक तालिकामा त्रिभुवन आर्मी क्लब १९ अंक साथ शिर्ष स्थानमा रहेको छ भने मच्छिन्द्र क्लब र मनाङ मस्र्याङ्गदी क्लबको समना १९ अंक छ । गोल अन्तर पनि बराबर रहेकाले मच्छिन्द्र कम कार्डको आधारमा दोश्रो स्थानमा रहेको हो ।

जितको खोजीमा रहेको एनआरटीलाई राजेशले शुखद शुरुवात दिलाएका थिए । दर्शन गुरुङको असिस्टमा राजेशले शान्दार गोल गरेका थिए । ४३ औं मिनेटमा श्याम बाबुको सुन्दर प्रहारलाई ब्रिगेडका गोलकिपर बिशाल सुनारले रोकेपनि आएको रिबाउन्डमा पनि उनी असफल भएका थिए ।

दोश्रो हाफमा जानुअघि बिजय गुरुङले गरेको प्रहार थोरै मात्र बाहिर गएको थियो । दोश्रो हाफमा शुरु भएको ७ मिनेटमै एनआरटीले अग्रता दोब्बर बनायो । श्याम बाबुको पासलाई धैर्यता पुर्वक नियन्त्रणमा लिदै राजेशले अर्को सुन्दर गोल गरेका थिए ।

६१ औ मिनेटमा ब्रिगेडले खेलमा फर्किने सुन्दर अवसर गुमायो । यसपटक चुक्न पुगे राष्ट्रिय टोलीका पुर्व स्ट्राइकर अनिल गुरुङ । एनआरटीका डिफेण्डरको ह्याण्डबल भएपछि पाएको पेनाल्टीमा अनिलले प्रहार त गरे तर एनआरटीका गोलकिपर अजित प्रजापतिले सहि आकलन गर्दै बल रोकेका थिए । त्यसको ६ मिनेटपछि दर्शन गुरुङले बारमा लागेर आएको रिबाउन्डमा गोल गर्न असफल भएका थिए ।

७६ औं मिनेटमा बिशालले एनआरटीका बिदेशी खेलाडी जोर्डनको हेडरलाई सुन्दर ढँगले जोगाए । एनआरटीले त्यसपछि पनि केही मौका बनायो तर जितलाई अझै फराकिलो बनाउन सकेन ।

Click to comment

Trending