Headline

भरतको निर्णायक गोलमा आर्मी फेरि लिगको शिर्ष स्थानमा

Published

on

कप्तान भरत खवासको एक मात्र गोलको मद्दतमा त्रिभुवन आर्मी क्लब शहीद स्मारक ए डिभिजन लिगको शिर्ष स्थानमा उक्लिएको छ ।
दशरश रँगशालामा भएको खेलमा भरतले ७५ मिनेटमा गोल गरेपछि आर्मीले जावलाखेल युथ क्लबलाई १–० ले हरायो । जितसँगै आर्मी ९ खेलबाट २० ंअंक सहित शिर्ष स्थानमा उक्लेको छ । दोश्रो स्थानमा रहेको मच्छिन्द्रको १९ अंक रहेको छ भने तेश्रो स्थानको मनाङ मस्र्याङ्गदी क्लबको १६ र थ्रि स्टार क्लबको १४ अंक भएको छ ।
समान अंक रहेपनि थ्रि स्टार गोल अन्तरको आधारमा नेपाल पुलिस क्लबभन्दा एक स्थान माथि रहेको छ ।
पहिलो हाफमा दुवै टोलीले केही अवसर बनाएका थिए । जावलाखेलका ड्याडी जुनियर वाम्बाले गोल गरेपनि त्यसलाई अफसाइड दिइएको थियो । ४० औं मिनेटमा नवयुग श्रेष्ठको सशक्त प्रहारलाई जावलाखेलका गोलरक्षक अरुन ब्लोनले बचाएका थिए ।
दोश्रो हाफमा आर्मीले सुधारिएको प्रदर्शन गर्दै खेलमा दवाब कायम गरेपनि गोलका लागि लामो समय कुर्नु परेको थियो । ६६ औं मिनेटमा जावलाखेलका रुप बहादुर लामाले गरेको उत्कृष्ट प्रहारलाई आर्मीका गोलरक्षक बिकेश कुथुले बचाएका थिए । ९ मिनेटपछि आर्मीले अग्रता लियो । भरतले टाइट एँगलबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।
त्यसपछि खेलमा खासै उल्लेखनीय मुभहरु बन्न सकेन । हारपछि जावलाखेल ९ खेलबाट १२ अंकका साथ सातौं स्थानमा कायम नै छ । बुधबारको एक मात्र खेलमा मनाङले संकटा क्लबको सामना गर्नेछ ।

Click to comment

Trending