Headline

मच्छिन्द्रसँग पराजित भएपछि थ्रि स्टारलाई ए डिभिजन लिगमा नराम्रो झड्का

Published

on

थ्रि स्टार क्लबलाई २–० ले पराजित गर्दै मच्छिन्द्र क्लबले शहीद स्मारक ए डिभिजन लिगमा निकै महत्वपूर्ण जित हात पारेको छ ।

दशरथ रंगशालामा सोमबार सम्पन्न दोश्रो खेलमा सब्स्टिच्युट रेजिन सुब्बा र बिशाल राई बि ले १–१ गोल गरेपछि मच्छिन्द्रले उपाधितर्फ अर्को एक कदम बढाएको हो । जितसँगै मच्छिन्द्र अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । मच्छिन्द्रको ९ खेलबाट १९ अंक भएको छ ।

दोश्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको ८ खेलबाट १७ अंक रहेको छ भने तेश्रो स्थानको मनाङ मस्र्याङ्गदी क्लबको १६ । पराजयपछि थ्रि स्टार १४ अंक सहित कायम चौथो स्थानमा कायम रहेको छ भने गोल अन्तरको आधारमा नेपाली पुलिस क्लबभन्दा अगाडी रहेको छ । पुलिसले सोमबार नै सम्पन्न खेलमा नेपाल एपिएफ क्लबलाई १–० ले पराजित गरेको थियो ।

उपाधि दौडमा कायम रहनका लागि दुवै टोलीलाई जितको आवश्यकता रहेको थिए, बिशेष गरि थ्रि स्टारलाई । तर हारले थ्रि स्टारको अबको बाटो भने कठिन बनाएको छ । यद्दपी उसले प्रतियोगिताका तीनवटै बलिया टिमसँग भने खेलिसकेको छ ।

थ्रि स्टारले आर्मी र मनाङसँग दुई–दुई गोलको बराबरी थियो । अन्य तीन ठूला टिमको परिणाम कुर्ने र आफूले जित्दै जाने हो भने थ्रि स्टारको लागि केही आशा भने अझै बाकी रहेको छ । थ्रि स्टारलाई जितबाट टाढा राख्न मच्छिन्द्रका पिटर सेगुनले उत्कृष्ट डिफेन्डिङ्ग गरेका थिए ।

१२ औं मिनेटमा अशोक खवासले निकालेको बलमा वासिउ हज्मतको हेडर फ्रेमबाट अलिकति मात्र बाहिर गएको थियो । ३८ औं मिनेटमा दिपक राइको स्थानमा मैदान प्रवेश गरेका रेजिनले गोल गर्दै मच्द्धिन्द्रलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा दुवै तर्फबाट उत्तिकै प्रयास भएपनि त्यसमा मच्छिन्द्र मात्र सफल हुन पुगेको थियो ।

थ्रि स्टारले बराबरीको लागि प्रयास गरिरहदा बिशाल राईले गोल गरेपछि मच्छिन्द्रको जित सुनिश्चित बनेको थियो ।

Click to comment

Trending