Headline

फ्रेण्ड्सलाई हराउदै संकटा ए डिभिजन लिगमा सातौंमा उक्लियो

Published

on

अफ्रिकी खेलाडी अजयी मार्टिन्स कायोडीको एक मात्र गोलको मद्दतमा संकटा क्लब शहीद स्मारक ए डिभिजन लिगमा फ्रेण्ड्स क्लबलाई १–० ले पराजित गर्दै सातौं स्थामा उक्लिएको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा दुङ्गिएको खेलमा मार्टिन्सले ६४ औं मिनेटमा गोल गरेका थिए । जितपछि संकटा ८ खेलबाट १२ अंक बटुल्दै तीन स्थान माथि उक्लदै सातौंमा आइपुगेको हो । जावलाखेल युथ क्लबको पनि १२ अंक छ भने उ गोल अन्तरले अगाडी रहेको छ । फ्रेण्ड्स भने ११ औं स्थानमा कायम रहेको छ ।
शनिबारको पहिलो खेलमा एनआरटीसँग गोलरहित बराबरी खेलेपछि त्रिभुवन आर्मी क्लब १७ अंकका साथ पहिलो स्थानमा कायम रहेको छ । अघिल्लो सिजन अंक तालिकाको पछारमा रहेको एनआरटी १२ अंकसहित गोल अन्तरको आधारमा पाचौं स्थानमा रहेको छ ।
दोश्रो स्थानको मच्छिन्द्र र तेश्रोमा रहेको मनाङ मस्र्याङ्गदी क्लबको समान १६ अंक रहेको छ । चौथो स्थानको थ्रि स्टारको १४ अंक छ ।
बिदेशी खेलाडीहरु फेलिपे डि सुजा र वाग्नर डि कार्मोले राम्रो खेल देखाएपछि पहिलो हाफमा फ्रेण्ड्स हावी भएको थियो । केही मौकाहरु सृजना गरेपछि फ्रेण्ड्स गोल गर्न भने असफल रह्यो । संकटाले दोश्रो हाफमा सुधारिएको खेल पस्केको थियो । ६३ औं मिनेटमा संकटाले फ्रि किक पायो र सुभाष गुरुङले प्रहार गरेको बलमा मार्टिन्सले हेडर मार्फता गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
मार्टिन्सलाई ८३ औं मिनेटमा अग्रता दोब्बर पार्ने अवसर थियो तर उनको प्रहारलाई फ्रेण्ड्सका किपर देव लिम्बुले बचाइदिएका थिए । फ्रेण्ड्सले दोश्रो हाफमा गोल गर्ने खासै अवसर बनाउन सकेको थिएन ।

Click to comment

Trending