Headline

मलेसिया बिरुद्ध नेपालको फराकिलो जीत 

Published

on

नेपाल भ्रमणमा रहेको मलेसिया बिरुद्धको दोश्रो अभ्यास खेलमा नेपालले १७२ रनको फराकिलो जीत दर्ता गराएको छ ।
पोखरा रंगशालामा भएको खेलमा २९१ रनको विशाल लक्ष्य लिएर ब्याटिंङमा आएको मलेसियाले २८ दशमलब चार ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर मात्र ११८ रन बनाउन सक्यो ।
मलेसियालाई सस्तैमा रोक्ने क्रममा किशोर महतो र ललित नारायण राजबंशीले समान ३-३ विकेट हात पारे भने सुशन भारीले पनि दुई विकेट आफ्नो नाममा दर्ता गराए । नेपालका अन्य बलरहरु कमल सिंह ऐरी र पवन सर्राफले पनि १-१ विकेट लिए ।किफायती बलिङ गरेका किशोरले सात दशमलब चार ओभरमा मात्र १९ रन खर्चिए भने ललितले आठ ओभरमा २६ रन दिए ।
मलेसियाका सयद अजिजले सर्वाधिक २८ रन बनाए भने ओपनर भुषण विलास साबेले २४ तथा विरनदिप सिंहले २३ रनको पारी खेले । कप्तान अहमद फैज़ले १९ रन बनाए भने मलेसियाका बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
यस अघि खेलमा टस जीतेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान ज्ञानेन्द्र मल्ल र रोहित कुमार पौडेलको अर्धशतकको मद्धतमा पुरै ५० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा २९० रन बनायो ।
नेपालको तर्फबाट रिटायर्ड आउट भएका रोहित र ज्ञानेन्द्रले क्रमसः ५७ र ५४ रन बनाए । ज्ञानेन्द्रले ४७ बल खेल्दै पाँच चौका र दुई छक्का प्रहार गरे भने रोहितले ५४ बलको सामना गर्दै चार चौका र दुई छक्का प्रहार गरे ।
नेपालका अन्य ब्याट्सम्यानहरुमा सुभास खकुरेल ४८, लोकेश बम ३४, सुनिल धमला २४, बिनोद भण्डारी २१, पवन सर्राफ १२ तथा कमल सिंह ऐरी शुन्य रनमा आउट भए भने सुशन भारी १६ तथा ललित नारायण राजबंशी एक रनमा अविजित रहे ।
मलेसियाका नज्रिल रहमान र अनवर रहमानले समान २-२ विकेट हात पारे ।
अरिफ शेखले शतक प्रहार गरे पछि हिजो भएको पहिलो अभ्यास खेलमा पनि नेपालले मलेसियालाई १३५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

Click to comment

Trending