Headline

च्यासललाई फराकिलो अन्तरले पराजित गर्दै आर्मीको लिगमा स्पष्ट अग्रता

Published

on

च्यासल युथ क्लबलाई ३–० ले पराजित गर्दै त्रिभुवन आर्मी क्लबले शहीद स्मारक ए डिभिजन लिगमा स्पष्ट ३ अंकको अग्रता बनाएको छ ।

दशरथ रँगशालामा मङ्गलबार भएको खेलमा आर्मीका लागि कप्तान भरत खवास, नवयुग श्रेष्ठ र सन्तोष तामाङले एक–एक गोल गरेका थिए । जितपछि आर्मी ७ खेलबाट १६ अंक बटुल्दै उपाधिमा दाबेदारी देखाइरुहेका मच्छिन्द्र क्लब र मनाङ मस्र्याङ्गदी क्लबलाई पछाडी पार्न सफल भएको छ ।

सातौं चरणको खेलहरु समाप्त हुँदा दुवै टोलीको १३ अंक रहेको छ । मच्छिन्द्र गोल अन्तरले दोश्रो स्थानमा रहेको छ ।

खेलमा आर्मी पूर्ण रुपमा हावी भएको थियो । गोल गर्ने थुप्रै अवरस सृजना गरेपनि पहिलो हाफमा भने उ सफल हुन सकेन । च्यासलले केही मौकाहरु पायो तर त्यसमा आर्मीका गोलकिपर बिकेश कुथु र डिफेन्स लाईन बाधक बन्न पुगेका थिए ।

भरतले आर्मीलाई ५८ औं मिनेटमा अग्रता दिलाए । डि बक्स भित्रबाट गरेको उनको प्रहार टप कर्नर ह्ुदै जाली चुम्न पुग्यो । अर्का स्ट्राइकर नवयुगले ७३ मिनेटमा अग्रतालाई दोब्बर पारे । काउन्टर एट्याकमा सेसेहाङ आङ्गदेम्बेले निकालेको पासलाई नवयुगले फिनिसिङ्ग दिएका थिए ।

दोश्रो हाफको शुरुवातमा च्यासलले केही अवसर पाएपनि आर्मी नै हावी भएको थियो । लगातार आक्रमण गरिरहँदा आर्मीले ८५ औं मिनेटमा पेनाल्टी पायो र त्यसलाई सन्तोषले गोलमा परिणत गरे । आर्मीलाई जित अझै फराकिलो बनाउने अवसर थियो तर ९४ औं मिनेटमा पाएको पेनाल्टी साइड बारमा लागेर फर्किएपछि नवयुगले दोश्रो गोल गर्ने अवसर खेर फालेका थिए ।

खेलको म्यान अफ द म्याच आर्मीका कप्तान भरत खवास घोषित भए । हारपछि च्यासल ७ खेलबाट ६ अंकसहित १२ औं स्थानमा रहेको छ ।

यसअघि एन्फा कम्प्लेक्समा भएको खेलमा संकटा क्लबलाई ब्रिगेड बोइज क्लबले बराबरीमा रोकेको थियो । संकटा ९ अंक सहित आठौं स्थानमा रहेको छ भने एक स्थान तर रहेको ब्रिगेडको ८ अंक भएको छ ।

Click to comment

Trending