Headline

धोनीको भारतीय टोलीमा नभएपनि चेन्नईमा भविष्य सुनिश्चित

Published

on

भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिएपछि पुर्व कप्तान महेन्द्र सिँह धोनीको राष्ट्रिय टोलीमा भविष्य समाप्त भएको आकलन गरिएपनि इण्डियन प्रिमियर लिगमा उनी चेन्नई सुपर किंग्समै रहने भएका छन् ।

चेन्नईका मालिक एन श्रीनिभासनले धोनीले यो सिजनको आईपिएल चेन्नईबाट खेल्ने र सन् २०२१ को सिजनको लागि पनि उनलाई टिममा नै राखिने बताएका छन् । चेन्नई इण्डिया सिमेन्ट्सको फ्राञ्चाइज हो र श्रीनिभासन त्यसका उपाध्यक्ष र प्रबन्ध निदेर्शक हुन् ।

बिसिसिआईले भर्खरै ३८ बर्षिय धोनीलाई आफ्नो सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिर राखेको थियो । सन् २०१९ को बिश्वकप पछि नै धोनीले भारतीय टोलीबाट खेलेका छैनन् । यस दौरान केही श्रृंखलाहरुका लागि उनी आफै छनोटका लागि उपलब्ध नहुने बताउदै आएका थिए ।

“धेरै मान्छेहरुको प्रश्न के छ भने धोनी कहिले र कतिसम्म खेल्न सक्छन । म बिश्वस्त गराउन चाहन्छु की उनी खेल्छन् । उनी यो बर्ष (चेन्नईबाट) खेल्छन्, अर्को बर्ष अक्सनमा जान्छन तर उनीलाई रिटेन गरिनेछ,” श्रीनिभासनले भर्खरै एक कार्यक्रममा भनेका थिए ।

ट्वान्टी ट्वान्टी बिश्वकप आइरहेको समयमा धोनीको बिकल्पको रुपमा हेरिएका रिसभ पन्तले एक सरहको प्रदर्शन दिन असफल भएसँगै धोनीले पनि मौका पाउछन् भन्नेहरु धेरै छन् । केही समयअघि भारतीय प्रशिक्षक रवि शास्त्रीले धोनीले आईपिएलमा राम्रो गरेर देखाउने हो भने उनलाई टिममा ल्याउने बिषयमा बिचार गर्न सकिने बताएका थिए ।

भारतलाई ट्वान्टी ट्वान्टी बिश्वकप, ५० ओभरको बिश्वकप र च्याम्पियन्स ट्रफिको उपाधि दिलाएका धोनी भारतीय क्रिकेट इतिहासकै सबैभन्दा सफल कप्तान हुन् । सन् २००८ मा आईपिएल शुरु भएदेखि नै चेन्नईको कप्तानमा कायम रहेका धोनीले तीन वटा आईपिएलको उपाधि पनि दिलाइसकेका छन् ।

यस दौरान धानीले नेतृत्व गरेको टोली पाँच पटक फाइनलमा पराजित भएको थियो । धोनीले चेन्नईलाई दुई पटक च्याम्पियन्स लिग ट्वान्टी ट्वान्टीको पनि उपाधि दिलाएका थिए । उक्त प्रतियोगिता अहिले भने खेलिने गरेको छैन ।

Click to comment

Trending