Headline

फराकिलो जितपछि फ्रेण्ड्सको लिग अंक तालिकामा छलाँग

Published

on

फ्रेण्ड्स क्लबले शहीद स्मारक ए डिभिजिन लिगमा ९ वौं स्थानमा उक्लेको छ । एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा सरस्वती युवा क्लबलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै फ्रेण्ड्स चार स्थान माथि उक्लन सफल भएको हो ।

उत्तम राइको गोलबाट खेलको शुरुवात मै अग्रता लिएको फ्रेण्ड्सका लागि चौथो गोल पनि उनैले गरेका थिए । अन्य दुई गोल बिदेशी खेलाडी साउलो डे अकिनो र वाग्नर डे कार्मोले गरेका थिए । सरस्वतीका लागि एकमात्र सान्त्वना गोल कजिम बसारीले गरे ।

एक खेलमा पनि जित हात पार्न असफल सरस्वती अंक तालिकाको पछारमा रहेको छ । ७ खेलबाट उसको एक अंक मात्र रहेको छ । फ्रेण्ड्सको ७ खेलबाट ८ अंक भएको छ । संकटाको पनि ७ खेलबाटै ८ अंक भएको छ तर उ आठौं स्थानमा रहेको छ ।

फ्रेण्ड्सले खेल शुरु भएको पाँच मिनेट मै अग्रता लिएको थियो । डे कार्मोको पासमा उत्तमले वान टचमै गोल गरेका थिए । २४ औं मिनेटमा फ्रेण्ड्को अग्रता दोब्बर भयो । फेलिपे डे सुजाको फ्रि किकमा डे अकिनोले आकर्षक गोल गरेपछि पहिलो हाफमा फ्रेण्ड्स २–० ले अगाडी बढ्यो ।

डे कार्मोले ७० औं मिनेटमा उक्तमकै असिस्टमा गोल गरेपछि फ्रेण्ड्सको अग्रता फराकिलो बन्यो । बुसारी ८० औं मिनेटमा गोल गर्दै अग्रतालाई घटाएका थिए । तर ८६ औं मिनेटमा सरस्वतीका गोलरक्षकलाई नटमेग गर्दै उत्तमले फ्रेण्ड्सलाई फराकिलो जित दिलाए ।

Click to comment

Trending