Headline

थ्रि स्टार र मनाङबीचको रोमाञ्चक खेल बराबरीमा, अंक तालिकामा शुरुका तीन वटै टिमको १३ अंक

Published

on

लाल रामाभ्रा र अञ्जन बिष्टले दुई–दुई गोल गरेपछि शहीद स्मारक ए डिभिजिन लिग अन्तर्गत मनाङ मस्र्याङ्गदी क्लब र थ्रि स्टार क्लबीचको रोमाञ्चक खेल बराबरीमा टुङ्गिएको छ ।

दशरथ रँगशालामा रामाभ्राको गोलबाट थ्रि स्टारले पहिलो हाफमा अग्रता लिएपछि अञ्जनले दोश्रो हाफको शुरुवात मै मनाङलाई पेनाल्टी मार्फत खेलमा फर्काएका थिए । ६९ औं मिनेटमा अञ्जनले अर्को गोल गरेपछी मनाङले अग्रता लिएको थियो । तर रामाभ्राले निर्धारित समय सकिनुभन्दा ७ मिनेट अगाडी अर्को गोल गरेपछि खेल बराबरीमा समाप्त भयो ।

बराबरीपछि लिगको पहिलो पाँच स्थानमा प्रतिस्पर्धा अझ तिब्र बनेको छ । शिर्ष स्थानमा रहेको त्रिभुवन आर्मी क्लब, दोश्रो स्थानको मच्छिन्द्र र तेश्रो स्थानको मनाङको ७ खेलबाट समान १३ अंक रहेको छ । यस्तै थ्रि स्टार र नेपाल पुलिस क्लबको समान ११ अंक रहेको छ ।

पुलिसले शनिबार नै सम्पन्न खेलमा छैटौं स्थानको जावलाखेल युथ क्लबलाई २–० ले हराएको थियो । जावलाखेलको ७ खेलबाट ९ अंक रहेको छ । लिगमा एक खेल पनि नहारेको टोलीको रुपमा मनाङमात्र रहेको छ । शुक्रबार हिमालय शेर्पा क्लबले मच्छिन्द्रलाई हराउदै सनसनी मच्चाएको थियो ।

शनिबारको दोश्रो खेलमा रामाभ्राले फ्रि किकमा आकर्षक गोल गर्दै थ्रि स्टारलाई १९ आंै मिनेटमा अग्रता दिलाएका थिए । पुजन उपरकोटीले ह्याण्ड गरेपछि थ्रि स्टारले पेनाल्टी बक्सको बाहिर फ्रि किक पाएको थियो । मनाङले पहिलो हाफमा प्रशस्त मौका बनाएपनि सदुपयोग भने गर्न सकेन ।

दोश्रो हाफको चार मिनेटपछि नै मनाङले बराबरी गोल फर्काएको थियो । अशोक खवासले डि एरिया भित्र अञ्जनलाई लडाएपछि मनाङले पेनाल्टी पाएको थियो । त्यसमा अञ्जनले सहजै गोल गरेका थिए । अब खेलमा अग्रता लिने पालो मनाङको थियो । ६९ औं मिनेटमा कमल श्रेष्ठको फ्रि किकमा अञ्जनले हेड गर्दै मनाङलाई अघि बढाए ।

थ्रि स्टारले दवाब बनाइरहदा ८३ औं मिनेटमा बराबरी गरेको थियो । अनन्त तामाङले गरेको हेडरलाई मनाङका गोलकिपरले फुत्काएपछि त्यसलाई रामाभ्राले लाइन नजिकबाटै गोल गरेका थिए ।

Click to comment

Trending