Headline

बिग ब्यास लिगः सन्दिपको टिम मेलबर्न स्टार्स प्लेअफ नजिक

Published

on

अष्ट्रेलियन बिग ब्यास लिगमा नेपाली लेग स्पिनर सन्दिप लामिछानेको टोली मेलबर्न स्टार्स प्लेअफ नजिक पुगेको छ ।

मेलबर्नले शनिबार भएको खेलमा पर्थ स्कोर्चर्सलाई १० रनले पराजित ग¥यो । अंक तालिकाको शिर्ष स्थानमा आफ्नो पकड जमाउने क्रममा मेलबर्नको ११ खेलबाट २० अंक भएको छ । दोश्रो स्थानको सिड्नी सिक्सर्सको १० खेलबाट १३ र एडिलेड स्ट्राइकर्सको उति नै खेलबाट ११ अंक भएको छ ।

प्रतियोगितामा आफ्नो उच्च प्रदर्शनलाई कायमै राख्ने क्रममा सन्दिपले शनिबार चार ओभरमा २९ रन खर्चदै एक विकेट हात पारे । प्रतियोगितामा उनले १२ विकेट हात पारिसकेका छन् भने सबैभन्दा बढी विकेट लिने खेलाडीहरुमध्ये सातौं स्थानमा रहेका छन् ।

सातौं ओभरमा आएका सन्दिपले ओपनर लियम लिभिङ्गस्टोनको महत्वपूर्ण विकेट हात पारेका थिए । टस जिती पहिलो ब्याटिङ्ग गरेको मेलबर्नले ओपनर हिल्टन कार्टराइटको अद्र्धशतकको मद्दतमा ६ विकेटको क्षतिमा एक सय ४१ रन बनायो ।

सुस्त पिचमा ५६ बलको सामना गरेका कार्टराइटले सात चौका प्रहार गर्दै ५८ रन बनाए । यस्तै कप्तान ग्लेन म्याक्सवेलले २५ र निक लार्किनले २४ रन बनाएका थिए । म्याथ्यु केलीले पर्थका लागि तीन विकेट लिए ।

सामान्य लक्ष्य पछ्याउने क्रममा पर्थको टप र मिडल अर्डरका ब्याट्स्म्यानहरुले शुरुवात पाएपनि त्यसलाई ठूलो योगफलमा बदल्न भने सकेनन् । पर्थले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३१ रन मात्र बनाउन सक्यो ।

पर्थका लागि कोलिन ब्यानक्रफ्टले सर्वाधिक ३२ रन बनाए भने कर्टिस प्याटर्सने २० रनको योगदान दिएका थिए । निक म्याडिसनले मेलबर्नका लागि चार ओभरमा २४ रन खर्चदै तीन विकेट लिए । एक विकेट पनि लिएका कप्तान म्याक्सवेल म्यान अफ द म्याच भएका थिए ।

Click to comment

Trending