Headline

शेर्पाको जित, मच्छिन्द्र स्तब्ध, लिगको उपाधिमा दाबेदारी अझै तिब्र

Published

on

हिमालयन शेर्पा क्लबले शहीद स्मारक ए डिभिजन लिगमा आफ्नो पहिलो जित निकाल्दा त्यसले उपाधिको दौडमा रहेका सबै क्लबहरुलाई राहत दिएको छ ।
एक खेलमा पनि जित हात नपारेको हिमालयनले शुक्रबार एन्फा कम्प्लेक्समा सम्पन्न सातौं चरणको पहिलो खेलमा लिगको प्रबल दाबेदार मच्छिन्द्र क्लबलाई २–० ले स्तब्ध पा¥यो । हारका बावजुद मच्छिन्द्र १३ अंक सहित अग्रस्थानमा कायमै रहेको छ तर उसले ७ म्याच खेलिसकेको छ ।
पहिलो पाँच स्थानकै लागि तिब्र प्रतिस्पर्धा रहेको स्थितिमा त्रिभुवन आर्मी क्लबको पनि १३ अंक रहेको छ भने मनाङ मस्र्याङ्गदी क्लबको १२, थ्रि स्टारको १० र जावलाखेल युथ क्लबको ९ अंक रहेको छ । अन्य टोलीहरुले छैटौं चरणको खेल खेल्न बाकी नै रहेको छ ।
शुक्रबारको परिणामले लिगको बिजेता थाहा पाउन अन्तिम दिनसम्मै कुर्नुपर्ने स्थिति नआउला भन्न सकिदैन । हारसँगै मच्छिन्द्रको अपराजित यात्रामा पूर्णबिराम लागेको छ । अब लिगमा मनाङ मात्र अपाजित टोलीको रुपमा रहेको छ ।
मच्छिन्द्र, आर्मी र जावलाखेलले मात्र एक–एक खेलमा पराजय बेहोरेका छन् ।
लगातारको बर्षाका कारण दशरथ रँगशालाबाट एन्फा कम्प्लेक्समा सारिएको खेलमा हिमालयन शेर्पाले आत्मघाती गोलमार्फत अग्रता लिएको थियो ।
पहिलो मिनेटमै पिटर सेगुनले आन्त्मघाती गोल गर्न पुगेका थिए । यो जारी लिगमा अहिलेसम्मकै सबैभन्दा छिटो भएका गोल हो । २० औं मिनेटमा निरज बस्नेतको फ्रि किकमा बिजय श्रेष्ठले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । खेलमा दवाब भने मच्छिन्द्र कै रहेको थियो । दोश्रो हाफमा भने गोल हुन सकेन ।

Click to comment

Trending