Headline

१० खेलाडीमा सिमित आर्मी बराबरीमा रोकिएपछि लिग रोचक

Published

on

संकटा क्लबले बिभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–१ गोलको बराबरीमा रोकेपछि शहीद स्मारक ए डिभिजन लिगको उपाधि होड थप रोमाञ्चक बनेको छ ।

छैँटौ चरणको अन्तिम खेलमा संकटाले उत्कृष्ट प्रदर्शन गरेपछि आर्मीले अंक तालिकाको शिर्षस्थानमा जाने मौका पनि गुमाउन पुग्यो ।
दशरथ रङशालामा भएको खेलमा नवयुग श्रेष्ठले २९ औं मिनेटमा पेनाल्टी बक्समा प्राप्त बललाई हेडमार्फत गोलमा परिणत गर्दै आर्मीलाई पहिलो हाफमा आग्रता दिलाए । संकटाले दोस्रो हाफको ५५ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै बराबरी गरेको थियो ।

आफ्नै डिबक्समा सुमन अर्यालले ह्यान्ड गरेपछि संकटाले पेनाल्टी पाएको थियो । अमित तामाङले संकटाका लागि पेनाल्टीमा बराबरी गोल गरेका थिए । त्यस पछी खेलमा कुनै गोल हुन नसक्दा अर्मीले शिर्ष स्थानमा उक्लिने मौका गुमाएको छ ।

बराबरीसँगै आर्मीले मछिन्द्र क्लबलाई २ अंकले पछाडि पार्दै एक नम्बरमा रहने मौका गुमायो । आर्मी र मछिन्द्रको समान १३ अंक भएको छ । आर्मीको बराबरीले मछिन्द्र, मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टारलाई फाइदा पुगेको छ । मनाङको १२ र थ्री स्टारको १० अंक रहेको छ ।

पहिलो हाफमा आर्मीले थोरै मौका श्रृजना गरेको थियो र त्यसमा नवयुग सफल भएका थिए । दोस्रो हाफ भने रोमन्चक हुन पुगेको थियो । ५२ औं मिनेटमा आर्मी १० खेलाडीमा सिमित भयो । युद्ध शाहीले दोहोरो पहेलो कार्डको सामना गर्दै मैदान छाडेपछि संकटालाई फाइदा पुगेको थियो । ५५ औं मिनेटमा सुमनले ह्यान्ड गरेपछि पाएको पेनाल्टीमा संकटा चुकेन ।

Click to comment

Trending