Headline

इनरुवामा मलेशियाको बिशाल जित, गण्डकी एक सय ९२ रनले पराजित

Published

on

मलेशिया भ्रमणकारी टोली मलेशिया सेलेक्सन ११ ले एमएम कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई १ सय ९२ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

इनरुवा रँगशालमा कुहिरोका कारण ४७ ओभरमा छोट्याइएको खेलमा मलेशियाले तीन खेलाडीको अद्र्धशतकको मद्दतमा ८ विकेट गुमाउदै २ सय ९८ रनको बिशाल योगफल खडा ग¥यो । जवाफमा गण्डकी प्रदेश २७ दशमलव २ ओभरमा १ सय १० रनमै अलआउट हुन पुग्यो ।

बिशाल जितका बावजुद मलेशिया भने प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गर्न सकेन । यही टोली समुह डीको आफ्नो पहिलो लिग खेलमा मात्र ४९ रनमा सिमित हुदै पराजित भएको थियो । यो समुहबाट सुदरपश्चिम प्रदेश आफ्ना दुवै खेल जिति सेमिफाइनल प्रवेश गरिसकेको छ ।

गण्डकी प्रदेशले कुनै पनि समय मलेशियालाई चुनौति दिन सकेन । गण्डकीका लागि बिपिन खत्रीले सर्वाधिक ४२ रन बनाए । प्रविन ढकाल १९ रनमा नटआउट रहेका थिए । मलेशियाका लागि सुहारिल फेत्रिले सर्वाधिक चार विकेट लिए भने अनवर रहमान र बिजय उन्नीले पनि तीन–तीन विकेट लिएका थिए ।

यसअघि पहिलो ब्याटिङ्ग गरेको मलेशियालाई भुषण साभे र ऐनुल हकिमले ठोस शुरुवात दिदै पहिलो विकेटका लागि ७८ रनको साझेदारी गरेका थिए । साभेले ३४ बलमा ८ चौका र एक छक्काको मद्दतमा ५० रन बनाए ।

त्यसपछि हकिमले दोश्रो विकेटका लागि कप्तान अहमद फाइज (३१) सँग ७६ र तेश्रो विकेटका लागि भिरनदिप सिँहसँग तेश्रो विकेटका लागि ८० रनको साझेदारी गरेपछि मलेशियाले बिशाल योगफल खडा गरेको थियो ।

हकिमले १ सय ११ बलको सामना गर्दै ८९ रन बनाए । उनको इनिङ्गसमा ११ चौका समावेश थियो । यस्तै भिरनदिपले ४५ बलमा ५० रन बनाए । उनले तीन चौका र दुई छक्का प्रहार गरे । अलराउण्ड प्रदर्शन गरेका बिपिनले गण्डकीका लागि तीन विकेट पनि लिएका थिए । चन्द्रकान्त पौडेलले पनि दुई विकेट हात पारेका थिए ।

सेमिफाइनल खेलहरु बुधबारदेखि शुरु हुनेछन् । पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले बाग्मती प्रदेशको सामना गर्नेछ । बिहिबारको दोश्रो सेमिफाइनलमा सुदुरपश्चिमले नेपाल पुलिस क्लबसँग खेल्नेछ ।

Click to comment

Trending