Headline

एनआरटीसँग स्तब्ध भएपछि पुलिसमाथि ब्यापक दवाब

Published

on

दर्शन गुरुङले निर्णायक गोल गरेपछि न्यूरोड टिम (एनआरटी) सँग बिभागीय टोली नेपाल पुलस क्लब १–० ले पराजित भएको छ ।

दशरथ रंगशालामा भएको खेलमा एनआरटी सामु लिगको शिर्ष स्थानको दौडमा रहेको पुलिस निरिह देखिएको थियो । जितपछि एनआरटी ६ खेलबाट ८ अंक सहित छैटौं स्थानमा उक्लेको छ । उति नै अंक रहेको पुलिस हेड टु हेडमा सातौं स्थानमा धकेलिएको छ । जित हात पारेको खण्डमा पुलिस चौथो स्थानमा उक्लने थियो भने लिगको दाबेदारीका लागि उसलाई सजिलो पनि हुने थियो ।

पहिलो हाफमा दुबै टोलीले पाएका मौकालाई सदुपयोग गर्न सकेनन् । एनआरटीका प्रकाश बुढाथोकीले १० औं मिनेटमा गरेको क्रस बाहिरिएको थियो । त्यस्तै १७ औं मिनेटमा प्रकाश पुनः गोल गर्नबाट चुकेका थिए । अशोक थापाले प्रहार गरेको कर्नरमा प्रकाशको हेडर बाहिरिएको थियो ।

पहिलो हाफ बाराबरीमा सकिएको खेलमा दोस्रो हाफमा भने एनआरटीले गोलको खाता खोलेको थियो । दर्शनले ७६ औं मिनेटमा राजेश परियारले मैदानको लगभग बीच भागबाट दिएको पासलाई पेनाल्टी एरिया भित्रबाट प्रहार गर्दै गोलमा परिणत गरेका थिए ।

त्यसअघि एनआरटीका जोर्डन एन्डेम्बाले ५५ औं मिनेटमा पेनल्टी एरिया भित्रबाट गरेको प्रहार बाहिरिएको थियो । पुलिसका भोला सिलवालको पासमा जुमानु राईले ६५ औं मिनेटमा बक्स बाहिरबाट गरेको प्रहार एनआरटीका गोलकिपर अजित प्रजापतीले बचाए ।

एनआरटीकै राजेश परियारले ६७ औं मिनेटमा पेनाल्टी एरियाभित्रबाट गरेको प्रहारमा पुलिसका गोलकिपर सत्रुधन चौधरी बाधक बनेका थिए । गोल खान पुगेपछि पुलिसले आक्रामक खेल देखए पनि जवाब फर्काउन भने सकेन ।

राजेशको क्रसमा एन्डेम्बाले ७१ औं मिनेटमा हेडरमार्फत गरेको प्रहार पुनः पुलिसका गोलकिपर चौधरीले बचाएका थिए । पुलिसका अन्जन राईले इन्जुरी समयमा पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार क्रसबारमा लागेर फर्केको थियो ।

Click to comment

Trending