Headline

शेन वार्नको टेस्ट क्यापले अष्ट्रेलियाको डढेलोको लागि १० लाख डलर उठायो

Published

on

अष्ट्रेलियन क्रिकेट लिजेण्ड शेन वार्नको ब्यागी ग्रिन (टेस्ट क्याप) ले अष्ट्रेलियामा लागेको डढेलोसँग लड्न खडा गरिएको कोषका लागि १० लाख अष्ट्रेलियन डलर उठाएको छ ।

५० बर्षिय लेग स्पिन लिजेण्ड वार्नले बिहिबार आफ्नो क्यापलाई लिलामीमा राखेका थिए । सिड्नीका एक ब्यक्तिले खरिद गरेको क्याप वार्नले आफ्नो पुरै टेस्ट करिअरमा लगाएका थिए । वार्नले अष्ट्रेलियाका लागि एक सय ४५ टेस्ट खेल्दै कुल ७ सय ८ विकेट लिएका थिए ।

पुरै बिश्वको ध्यान तानिरहेको अष्ट्रेलियाको डढेलोमा हालसम्म एक अर्ब जनावरहरुको मारिसकेका छन् भने २७ मानिसको पनि मृत्यु भइसकेको छ । लिलामीबाट उठेको पुरै पैसा अष्ट्रेलिया रेड क्रस डिजास्टर रिलिफ एण्ड रिकभरी फण्डलाई जानेछ ।

निकै ठूलो मुल्यमा आफ्नो क्याप बिकेपछि अचम्ममा परेका वार्नले सिड्नीका उक्त व्यक्तिलाई धन्यबाद पनि दिएका थिए । वार्नको क्यापको लागि खर्च गरिएको पैसा सन् २००३ मा अर्का अष्ट्रेलियन लिजेण्ड सर डोनाल्ड ब्राडम्यानको क्यापले पाएको भन्दा दुई गुण बढी हो । ब्राडम्यानको क्याप ४ लाख २५ हजार अष्ट्रेलियन डलरमा बिक्री भएको थियो ।

वार्न टेस्ट क्रिकेटमा बिश्वमै दोश्रो सफल बलर हुन । टेस्ट क्रिकेटमा सर्वाधिक बढी विकेट लिने किर्तिमान श्रीलंकन स्पिन लिजेण्ड मुथैया मुरलीधरणको नाममा रहेको छ । उनले ८ सय विकेट लिएका छन् ।

अष्ट्रेलियाको डेढेलोसँग लड्नका लागि बिश्वभरका खेलाडीहरुले सहयोगको बाचा गरेका छन् । फर्मुला वान ड्राइभर लेविस ह्यामिल्टनले यसअघि एक च्यारिटीलाई ३ लाख ८० हजार पाउण्ड दिएका थिए । टेनिस स्टार नोभाक जोकोभिच, रफाएल नाडाल, रोजर फेडेरर र सेरेना विलियम्सले पनि सहयोग गर्ने बाचा गरेका छन् ।

Click to comment

Trending