Headline

मनाङका जगजित र अशोकलाई लिगमा पाँच म्याचको प्रतिबन्ध

Published

on

अखिल नेपाल फुटबल संघले मनाङ मस्र्याङदी क्लबका मिडफिल्डर जगजित श्रेष्ठ र गोलकिपर अशोक बराललाई शहीद स्मारक ए डिभिजन लिगमा पाँच म्याचको प्रतिबन्ध लगाएको छ ।
एन्फाको लिग अनुशासन समितिले दुई खेलाडीको तीन दिन अघि मच्छिन्द्र क्लबबिरुद्धको खेलमा भएको झगडाको प्रमुख कारण भएको ठहर गर्दै पाँच म्याचको प्रतिबन्ध लगाएको हो । दुवै खेलाडीलाई १० हजार रुपैयाको जरिवाना पनि लगाइएको छ ।
झगडा गरेका कारण रेफ्रिले उतिनै बेला रेड कार्ड देखाएकाले अशोकले अब मनाङका लागि ६ खेल खेल्न पाउने छैनन् ।
लिगको प्रबल दाबेदारबीचको खेलको अन्त्यमा दुवै टोलीका खेलाडी हातापाइमा उत्रिएपछि दशरश रंगशालाको मैदान रणभुमि जस्तै देखिएको थियो । झगडा छुट्याउन एन्फा र सुरक्षाकर्मीहरुलाई पनि हम्मे हम्मे परेको थियो । उक्त खेल २–२ गोलको बराबरीमा टुङ्गिएको थियो ।
यस्तै अर्का मनाङ खेलाडी रञ्जन बिष्टलाई दुई म्याचको प्रतिबन्ध लगाइएको छ । मनाङका तीन खेलाडी बाहेक मच्छिन्द्रका दिपक राइ, देवेन्द्र तामाङ र बिजय धिमाललाई पनि दुई म्याचको प्रतिबन्ध लगाइएको छ ।
मनाङका खेलकुद सामग्री व्यवस्थापक शिव लामालाई भने लिगको अन्य कुनै पनि खेलमा भाग लिन नपाउने गरि प्रतिबन्ध लगाइएको छ । उनलाई पनि १० हजार रुपैया जरिवाना लगाइएको छ । यस्तै घट्नामा अनुशासन कायम गर्न नसकेको भन्दै एन्फाले दुवै क्लबलाई ५० हजार रुपैया जरिवाना पनि लगाएको छ ।

Click to comment

Trending