Headline

रोमाञ्चक खेलमा संकटाले एपिएफलाई ४–२ ले हरायो

Published

on

संकटा क्लबले शहीद स्मारक ए डिभिजन लिगमा बिभागीय टोली नेपाल एपिएफ क्लबलाई ४–२ ले पराजित गरेको छ ।

पहिलो हाफमा लक्ष्मण रुचाल र कर्ण लिम्बुको गोलबाट अग्रता लिएको संकटाका लागि दोश्रो हाफमा अजयी मार्टिनले दुई गोल थपेका थिए । एपिएफका लागि नविन लामा र आशिष लामाले गोल गरेका थिए ।

दशरथ रंगशालामा भएको खेलमा दुबै टोलीलाई उत्तिकै दबाब थियो । रेलिगेसन जोन नजिक रहेका यि दुई टोलीको खेलमा भने संकटाले बजी मर्न पुग्यो ।

खेलको पहिलो हाफ देखिनै संकटाले एपिएफका खेलडीलाई दवाबमा राखेको थियो । पहिलो हाफमा २–० को अग्रता लिएको संकटाले उत्कृष्ट खेल प्रदर्शन गर्यो । लक्ष्मण रुचालले १९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । उनले भन्डै ३५ यार्डबाट फ्रिकिकमा गोल गरेका थिए । ४४ औं मिनेटमा कर्ण लिम्बुले अग्रतालाई दोब्बर पारे ।

दोस्रो हाफमा भने एपिएफ लय समाउन खोज्दा खोज्दै पनि चिप्लिन पुग्यो । उसले दुई गोल त फर्कायो तर त्यतिले हार टार्न भने पर्याप्त रहेन ।

५३ औं मिनेटमा अजयी मार्टिनले गोल गरेपछि संकटाको ३–० अगाडि बडेको थियो । सुवास गुरुङको क्रसलाई विपक्षी गोलकिपर अमृत चौधरीले पन्च गरेपछि पोष्ट नजिक रहेका मार्टिन्सले गोल गरेका थिए ।

लिगकै सबै भन्दा धेरै गोल भएको यो खेलमा एपिएफका नवीन लामाले पेनाल्टीमा गोल गर्दै अन्तरलाई घटाएका थिए । ७२ औं मिनेटमा एपिएफका आशिष लामाले गोल फर्काएपछि खेल थप रोचक बनेको थियो । पेनाल्टी बक्स बाहिरबाट उनले गरेको प्रहार सोझै गोलमा परिणत भएको थियो ।

खेल सकिन २ मिनेट बाँकी रहँदा मार्टिन्सले अर्को गोल थपेपछि संकटाको जित निश्चित बनेको थियो । नाटकीय जित निकालेको संकटाको लिगमा ७ अंक पुगेको छ । एपिएफको ५ खेलमा ४ अंक रहेको छ ।

Click to comment

Trending