Headline

जावलाखेल र एनआरटीको खेल गोल रहित बराबरीमा 

Published

on

दुबै टोलीले पाएका अवसरको सदुपयोग गर्न नसक्दा सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत जावलाखेल युथ क्लब र न्युरोड टिम (एनआरटी) बीचको खेल गोलरहित बराबरीमा सकिएको छ।
बराबरीसँगै सुरुआती चार खेलमा अपराजित जावलाखेलको ९ अंक छ भने यस अघि दुई जित र दुई हार ब्यहोरेको एनआरटीको ५ अंक छ । गत सिजन अंक तालिकाको पुछारमा रहेको एनाआरटीको दुई अंक घटाइएको हो ।
दशरथ रंगशालामा जारी खेलमा दुवै टोलीले गोलका लागि अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन् । जावलाखेलका फोडे फोफानाले १५औं मिनेटमा मैदानको लगभग बीच भागबाट पेनाल्टी एरिया भित्र दिएको पासमा ड्याडी जुनियर गोल गर्न चुके ।
जावलाखेल कै सुजित बुढाथोकीले १७औ मिनेटमा मैदानको दायाँतर्फ बाट प्रहार गरेको फ्रिकिकमा एडमाको हेडर बाहिरिएको थियो । त्यस्तै ३०औं मिनेटमा जावलाखेलका रूपबहादुर लामाले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहारमा एनआरटीका गोलकिपर अजित प्रजापति बाधक बनेका थिए।
दोस्रो हाफमा मैदान प्रवेश गरेका जावलाखेलका हरि कठायतले ५२औं मिनेटमा प्रहार गरेको फ्रिकिक पोस्टमा परेन । एनआरटीका कप्तान प्रकाश बुढाथोकीले ७४औं मिनेटमा पेनाल्टी एरिया अगाडिबाट प्रहार गरेको फ्रिकिकलाई जावलाखेलका गोलकिपर टेकेन्द्र थापाले उतकृष्ट बचाउ गरे ।
एनआरटीका सब्सटिच्युड खेलाडी राजेश परियारले ८२औं मिनेटमा पेनाल्टी एरिया भित्रबाट गरेको प्रहारमा पुनः जावलाखेलका गोलकिपर बाधक बन्दा खेल गोल रहित बराबरीमा टुंगियो ।

Click to comment

Trending