Headline

चार दिनको टेस्ट ? म यसको समर्थन गर्दिनः बिराट कोहली

Published

on

भारतीय क्रिकेट टोलीका कप्तान बिराट कोहलीले आफुले चार दिनको टेस्ट क्रिकेटलाई समर्थन नगर्ने बताएका छन् ।

श्रीलंका बिरुद्ध आइतबारबाट शुरु हुन लागेको ट्वान्टी ट्वान्टी शृंखला अघि पत्रकारहरुको जिज्ञासामा कोहलीले आफुले चार दिनको टेस्टलाई समर्थन नगर्ने जनाएका हुन् ।

“चार दिनको टेस्ट ? म यसको फ्यान अथवा समर्थक होइन,” कोहलीले भने । “मलाई यो उपाय भनौं वा बिषय, दुवै ठिक लागेन । पाँच दिनको टेस्ट छाडेर हामी चार दिनको टेस्टको कुरा गर्दैछौं । केहि समय पछि हामी फेरी तीन दिनको टेस्टको कुरा गर्नेछौं । अनि यसको अन्त्य कता ? अनि फेरी हामी टेस्ट मर्दै छ भनेर कुरा गर्छौ । त्यसैले म यसको समर्थन गर्दिन ।”

“मलाई यो बिषयमा कुरा उठाएको पनि चित्त बुझेन । टेस्ट क्रिकेट नै शुद्ध र सबैभन्दा पुरानो ढाँचाको क्रिकेट हो । हामीले शुरुवात देखि नै पाँच दिनको टेस्ट खेल्दै आएका छौं । अन्तर्राष्ट्रिय स्तरमा यो नै ठीक हो र यसलाई बिगार्न हुँदैन,” कोहलीले भने ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले विश्व टेस्ट च्याम्पियनशिप अन्तर्गतका खेलहरुमा सन् २०२३ पछि अनिवार्य रुपमा चार दिनको टेस्ट राख्नै पर्ने नियम लागु गर्दैछ । तर यसको विषयमा अब बस्ने बोर्ड बैठकले अन्तिम निर्णय गर्नेछ । तर भारतीय कप्तान कोहली भने यसको बिरोध गर्दै छन् ।

कोहलीले आफ्नो बिचारमा टेस्ट क्रिकेटलाई बचाई राख्ने हो भने डे–नाईट टेस्ट खेलाउन तिर लग्न पर्ने पनि जनाए । जिम्बाबे र दक्षिण अफ्रिकाले सन् २०१७ को डिसेम्बरमा सबैभन्दा पहिले चार दिनको टेस्ट खेलेका थिए । दक्षिण अफ्रिकाको आग्रहमा आईसीसीले चार दिनको टेस्टको मान्यता दिएको थियो ।

त्यस्तै सन् २०१९ को जुलाईमा इंङ्गल्याण्डले आफ्नो घरेलु मैदानमा आयरल्याण्डसँग चार दिनको टेस्ट खेलेको थियो । पछिल्लो पटक १०० बलको क्रिकेटको घोषणा गरेको इङ्गल्याण्ड क्रिकेट बोर्डले चार दिनको टेस्ट खेलाउन उपयुक्त भएको धारणा ब्यक्त गरेको थियो ।

Click to comment

Trending