Headline

साहुखलको शतकको पर्खाई लम्बियो, च्यासल जावलाखेलसँग पराजित

Published

on

सन्तोष साहुखलले शहीद स्मारक ए डिभिज लिगमा आफ्नो एक सयौं गोल गर्न निकै कसरत गर्नुपर्ने देखिएको छ । ९९ गोलमा अड्किरहेका साहुखलको एक सयौं गोल हुन सकेन नै, मङ्गलवार भएको खेलमा साहुखलको च्यासल जावलाखेल युथ क्लबसँग २–० ले पराजित पनि हुन पुग्यो ।

रुप बहादुर लामा र बिजय घलानले दुई मिनेटमा दुई गोल गरेपछि च्यासल स्तब्ध हुन परेको थियो । लिगमा अपराजित रहेको जावलाखेलको चार खेलबाट दुई जित र दुई बराबरीसहित ८ अंक रहेको छ । दुई खेलमा पराजित भइसकेको च्यासलको भने मात्र चार अंक रहेको छ ।

एन्फा कम्प्लेक्समा भएको खेल पहिलो हाफ देखी नै रोमञ्चक देखिएको थियो । नवौं मिनेटमा नीर बहादुर आलेको प्रहार पोस्टबाट थोरै बाहिरिदा जावलाखेलले खेलमा अग्रता लिने मौका गुमायो । ४१ औं मिनेटमा साहुखलको पेनाल्टी बक्स बाहिरको प्रहार आकाशियो ।

दोस्रो हाफमा च्यासललाई दबाबमा राख्ने क्रममा जावलाखेलले उत्कृष्ट खेल प्रदर्शन गर्यो । ५१ औं मिनेटमा उत्तम गुरुङले झन्डै २५ यार्डबाट प्रहार गरेको फ्रि किक क्रस बारबाट थोरै बाहिरिदा च्यासल अग्रता लिनबाट चुक्यो ।

५८ औं मिनेटमा रुप बहादुर लामाको प्रहार च्यासलका गोलरक्षक एलेन न्यौपानेले बचाएका थिए । ६९ औं मिनेटमा रुप बहादुर लामाको प्रहार च्यासलका गोलरक्षक एलेनले उत्कृष्ट डाइभ दिदै बचाए ।

७१ औं मिनेटमा कप्तानसाहुखलले दोस्रो बार च्याप्दै गरेको प्रहार थोरै बाहिरिँदा च्यासल अग्रता लिनबाट चुक्यो । ८० औं मिनेटमा विजय घलानको पासमा रुपले गोल गर्दै जावलाखेललाई अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक एलनले बचाउन सकेनन् ।

लगत्तै ८१ औं मिनेटमा विजय घलानले गोल गर्दै जावलाखेलको अग्रता दोब्बर पारे । रुपको प्रहारलाई गोलरक्षक एलेनले बचाएपनि रिवाउन्डमा विजय सफल भएका थिए ।

Click to comment

Trending