Headline

अन्तिम समयमा गोल खान पुग्दा एनआरटी पराजित

Published

on

बिदेशी खेलाडी आडेलाजा सोमिरेले खेल सकिन लाग्दा गोल गरेपछि मच्छिन्द्र फुटबल क्लबले एनआरटीलाई १–० ले हराउदै शहीद स्मारक ए डिभिजन लिगमा आफ्नो अपराजित यात्रालाई कायम राखेको छ ।

एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफ भने बराबरीमा सक्किएको थियो । तेस्रो मिनेटमा एनआरटीका दर्शन गुरुङले गरेको प्रहारलाई गोलकिपर अजित प्रजापतीले बचाएका थिए । १२ औं मिनेटमा पिटर सेगुनको हेडर पोस्टबाट बाहिरिदा मछिन्द्र अग्रता लिनबाट चुकेको थियो । ३१ औं मिनेटमा रेजिन सुब्बाको क्रसमा विशाल राईको हेडरले पोस्टको दिशा लिन सकेको थिएन ।

३४ औं मिनेटमा पेनाल्टी क्षेत्रको ठिक बाहिर प्राप्त फ्रिकिकमा डिफेन्डर देवेन्द्र तामाङको प्रहार क्रसबारमा लागेर फर्किन पुग्यो । त्यसमै रेजिन सुब्बा र अभिषेक रिजालको प्रयास एनआरटीका गोलरक्षक अजितले सहजै नियन्त्रणमा लिएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा सुजल श्रेष्ठले ६ यार्ड बक्स भित्रबाट गरेको प्रहार पनि अजितले बचाए ।

दोस्रो हाफमा एनआरटीले पनि सुधारिएको प्रदर्शन गर्दै केही मौका बनायो । ५३ औं मिनेटमा कप्तान प्रकाश बुढाथोकीको पासमा दर्शन गुरुङको क्रस तपन कार्कीले वान टचमा प्रहार गरे । तर मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले त्यसलाई सहजै बचाए । ५७ औं मिनेटमा सोमिरेको प्रहार पोस्टबाट थोरै आकाशियो । ६१ औं मिनेटमा एनआरटीले खेलमा अग्रता लिने सुन्दर मौका खेर फाल्यो ।

काउन्टर एट्याकमा मैदानको मध्यभागबाट अफसाइड ट्रयाप बिट गर्दै तपनले एक्लै बल अघि बढाउदै गरेको प्रहार दोस्रो बारबाट थोरै बाहिरिन पुग्यो । ७४ औं मिनेटमा अभिषेक रिजालको सशक्त प्रहार अजितले पञ्च गरेर बचाएका थिए ।

८४ औं मिनेटमा अभिषेकको क्रसमा सोमिरेको हेडर पोस्टबाट थोरै बाहिरिन पुग्यो । अन्तिम मिनेटमा भने सोमीरेले विजय धिमालको क्रसमा हेडरमार्फत गोल गर्दै मछिन्द्रलाई जित दिलाए ।

मच्छिन्द्रको चार खेलबाट कुल ९ अंक भएको छ भने एनआरटीले यो खेलबाट तीन अंक गुमाउदै ४ अंकमा सिमित भएको छ ।

Click to comment

Trending