Headline

चार मिनेटको अन्तरमा दुई गोल गर्दा आर्मी बिजयी

Published

on

भरत खवास र टेक बहादुर बुढाथोकीले चार मिनेटको अन्तरमा दुई गोल गरे पछि बिभागीय टोली त्रिभुवन आर्मी क्लबले हिमालयन शेर्पा माथि २–० को जित निकालेको छ ।

लिगको दाबेदार मध्येको एक आर्मीबिरुद्ध एन्फा कम्प्लेक्समा भएको खेलमा शेर्पाले खेल दौरान निकै संघर्ष गर्नुपरेको थियो । शारिरिक रुपसँगै खेल कौशलमा पनि सशक्त देखिएको आर्मीलाई पहिलो हाफसम्म बराबरीमा रोके पनि शेर्पाले दुवै गोल दोश्रो हाफमा खान पुग्यो ।

खेलको आठौं मिनेटमा शेर्पाका आशिष गुरुङ गोल गर्न चुकेका थिए । डिबक्स भित्रबाट उनको प्रहार सशक्त नहुँदा आर्मीका गोलकिपर विकेश कुथुले सहजै बचाए । २५ औं मिनेटमा आर्मीले गोल गर्ने अवसर गुमाउन पुग्यो । जर्ज प्रिन्स कार्कीको कर्नरमा विकास तामाङले गरेको हेडर बहिरिएको थियो ।

३६ औं मिनेटमा आर्मीले गोलको अर्को अवसर बनायो तर, प्रिन्सले कप्तान भरतलाई निकालेको क्रस शेर्पाका गोलकिपर किशोर गिरीले समाउन ढिलाई गरेनन । त्यसपछि ४१ औं मिनेटमा आर्मीले गोलको सुनौलो अवसर खेर फाल्यो । दिनेश हेम्जनले उपलब्ध गराएको बललाई कप्तान भरतले गोलरक्षक किशोरलाई बिट गरेपनि उनको प्रहारले जाली चुम्न सकेन ।

दोस्रो हाफमा भने सुधारिएको खेल प्रदर्शन गरेपनि शेर्पा गोल खान पुग्यो । दोश्रो हाफको १५ मिनेट नबित्दै भरतले प्रहार गरेको बलले जाली चुम्न सफल भएको थियो । त्यसको चार मिनेट नबित्दै टेक बहादुरले बाँया खुट्टाले डि बक्स भित्र बाट गरेको प्रहारलाई शेर्पाका गोलरक्षकले बचाउन नसक्दा आर्मीको जित सहज बनेको थियो ।

यो खेल सगै लिगमा ६ अंक बनाएको आर्मी लिगको दोस्रो स्थानमा उक्लेको छ । अंक तालिकाको शिर्ष स्थानमा रहेको मनाङको तीन खेलबाट ९ अंक रहेको छ भने गोल अन्तरको आधारले ६ नै अंक रहेको मच्छिन्द्र दोश्रो स्थानमा रहेको छ ।

Click to comment

Trending