Headline

जगजितले गोल गरेपछि मनाङको लगातार तेश्रो जित

Published

on

नेपाली लिगकै लागि भनेर आस्ट्रेलियाबाट खेल्न आएका जगजित श्रेष्ठले एक मात्र बिजयी गोल गर्दै मनाङ मस्र्याङ्गदी क्लबलाई शहीद स्मारक ए डिभिजन लिगमा लगातार तेश्रो जित दिलाएका छन् ।

एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङले शुक्रबार भएको खेलमा ब्रिगेड बोइज क्लबलाई १–० पराजित ग¥यो । खेलको शुरुवात देखि नै दुबै टिमले गोलका केही मौका खेर फालेका थिए । खेलको तेस्रो मिनेटमाइ ब्रिगेडले पाएको मौकालाई कप्तान अनिल गुरुङले सदुपयोग गर्न सकेनन् । उनले प्रहार गरेको बल पोस्ट नजिक बाट बाहिरिन पुगेको थियो ।

यस्तै मनाङले पनि केहि अवसर खेर फाल्यो । २३ औं मिनेटमा मनाङका विमल रानाले वान–टु–वानमा गोल गर्नबाट चुके । २५ औं मिनेटमा विमलको अर्को प्रहार गोलकिपरले सहजै बचाए । तर त्यसको तीन मिनेट नबित्दै जगजितले भिडाल लुइसको प्रहार डिफ्लेक्ट भएर आएपछि वान टचमा गोल गरेका थिए । यस्तै खेलको ३३ औ मिनेटमा अनिलले फेरी पनि आफ्नो प्रहारलाई पोस्टको दिशा दिन सकेनन् ।

पहिलो हाफमा १–० को आग्रता लिएको मनाङलाई ब्रिगेडले दोस्रो हाफमा राम्रो चुनौती दिएको थियो । ५२ औं मिनेटमा ब्रिगेडका जय गुरुङको प्रहार गोलरक्षक दिप कार्कीले सजिलै जोगाएका थिए । ५५ औं मिनेटमा मनाङका फेमीको प्रहार गोलकिपर विशाल सुनारले बचाए ।

६६ औंं मिनेटमा फेरी विमलनै वान भर्सेस वानमा गोल गर्न चुके । उनको चिप प्रहार गोलरक्षक विशालले डाईभ गर्दै उत्कृष्ट बचाउ गरेका थिए । ७३ औं मिनेटमा एकराज बुढाथोकी सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि मनाङ १० खेलाडीमा समेटियो । विजय गुरुङलाई गम्भीर ट्याकल गरेपछि रेफ्री कविन व्यन्जनकारले एकराजलाई सिधै रातो कार्ड देखाएका थिए ।

यो जित सगै मनाङ ९ अंकसहित शिर्षस्थानमा फर्केको छ । बुधबार मछिन्द्र क्लबले गोल अन्तरमा पछि पारेपछि मनाङ दोस्रो स्थानमा झरेको थियो । अपराजित मच्छिन्द्रको तीन खेलबाट ६ अंक भएको छ ।

Click to comment

Trending