Headline

एपिएफ र हिमालयन शेर्पाले अंक बाडे

Published

on

बिभागीय टोली नेपाल एपिएफ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा अंकको खाता खोलेको छ । आइतबार दशरथ रंशालामा भएको खेलमा एपिएफले हिमालयन शेर्पा क्लबसँग १–१ गोलको बराबरी खेल्यो ।

दुबै गोल दोस्रो हाफमा भएका थिए । पहिलो हाफमा दुबै टोलीबाट गोल गर्ने प्रयास भएपनि त्यो सफल हुन सकेन । सातौं मिनेटमा नै एपिएफले गोल गर्न अवसर पाएको थियो । प्रविण स्याङतानले गरेको प्रहारलाई शेर्पाका गोलकिपर किशोर गिरीले रोके । लगत्तै अर्को प्रहार पनि किशोरले विफल पारे ।

१४ औं मिनेटमा शेर्पाले गोल गर्ने मौका पाएपनि सफल भएन । स्टेफेनको प्रहार पोष्ट माथिबाट बाहिरिएको थियो । ३७ औं मिनेटमा अलरिच सिवेको प्रहारले पोष्टको दिशा लिन सकेन । पहिलो हाफका लागि एक मिनेट बाँकी रहँदा एपिएफका सुदीप शिख्राकारको फ्रि–किक प्रहार पोष्ट नजिकबाट बाहिरियो ।

दोस्रो हाफको शुरु देखी नै लय बनाएको हिमालयनले भने दोस्रो हाफ सुरु भएको दुई मिनेट नबित्दै त्रिदेव गुरुङको हेडर गोलमार्फत अग्रता लिएको थियो । त्यो अग्रता भने केही बेरपनी टिक्न सकेन । ५८ औं मिनेटमा एपिएफका प्रविणले बराबरी गोल फर्काएका थिए ।

आशिष लामाले डिफेन्डर आशिष गुरुङलाई छलाउँदै दिएको क्रसमा प्रविणले नजिकैबाट गोल गरेका थिए । त्यसपछि सुस्ताएको खेलमा दुबै टिमले मौकाको सृजना गर्न सनेनन् । ८१ औं मिनेटमा एपिएफले अग्रता लिने मौका खेर फाल्यो ।

प्रदीप लामाको पासमा क्लोज रेन्जबाट प्रविणको प्रहार आकाशिएको थियो । एन्फा कम्प्लेक्समा भुटान अण्डर–१५ र नेपाल अण्डर–१५ महिला टिम बीच मैत्रीपूर्ण खेल हुने भएकाले सोमबारका दुवै खेल दशरथ रंगशालामा हुने भएको छ ।

Click to comment

Trending