Headline

पोखरा लगातार दोश्रो खेलमा पराजित

Published

on

साबिक बिजेता पोखरा पल्टन पोखरा प्रिमियर लिगमा लगातार दोश्रो खेलमा पराजित हुन पुगेको छ ।

पोखरा क्रिकेट स्टेडियममा बुधबार भएको खेलमा पोखरा प्रतियोगिताकै कमजोर मानिएको टोली बिराटनगर टाइटन्ससँग पराजित हुन पुग्यो । भारतीय खेलाडी पुनित मेहराले निकै स्तरीय ब्याटिङ्ग गर्दै अद्र्धशतक प्रहार गरेपछि टाइटन्सले २० ओभरमा पाँच विकेट गुमाउदै १ सय ४५ रन बनायो । जवाफमा पोखरा १९ दशमलव पाँच ओभरमा १ सय रनमै समेटियो ।

पहिलो खेलमा काठमाडौं गोल्डेन वारियर्सलाई ९ विकेटले हराउदै शान्दार शुरुवात गरेको पोखराले मङ्गलबार भएको खेलमा पनि चितवन राइनोजसँग ६ विकेटले हार्न पुगेको थियो । पोखराका लागि रोहित कुमार पौडेलले ३८ बलमा तीन चौका र एक छक्काको मद्दतमा सर्वाधिक ३२ रन बनाएका थिए ।

ओपनर कुशल मल्लले १३ बलमा २४ रन बनाए भने अर्का ओपनर आसिफ शेख (१३) दोहोरो अंकमा रन बटुल्ने अर्का खेलाडी रहेका थिए । टाइटन्सका लागि किशोर महतोले ३ दशमलव पाँच ओभरमा २१ रन खर्चिदै तीन विकेट लिएका थिए ।

कसिलो बलिङ्ग गर्दै चार ओभरमा १३ रन मात्र खर्चेका मोहम्मद जायेद आलमले दुई र जितेन्द्र मुखियाले पनि दुई विकेट लिएका थिए । जितेन्द्रले चौथो ओभरमा कुशल र रवि इन्दरसिँहलाई शुन्यमै पेभिलियन फर्काउदै टाइटन्सलाई उत्कृष्ट शुरुवात दिएका थिए ।

यसअघि आलम (२६) र सुनिल धमलाले पहिलो विकेटका लागि ५० रन जोडेपनि पल्टनले रनरेटलाई आफ्नो नियन्त्रणमा लिएको थियो । धमलाले ४० बलमा दुई छक्का र दुई चौका प्रहार गर्दै ३६ रन बनाएका थिए । १५ ओभरमा ७६ रनमात्र बनाएको टाइटन्सको इनिङ्गसलाई पुनित मेहराले उकासेका थिए ।

म्यान अफ द म्याच पुनितले २६ बलमा ६१ रन बनायो । उनले पाँच चौका र चार छक्का प्रहार गरेका थिए । शरद भेषावकरले पल्टनका लागि दुई विकेट लिएका थिए ।

Click to comment

Trending