Headline

अविनासले दुई रन मात्र खर्चिएपछि बुटवलको सुपर ओभरमा रोमाञ्चक जित

Published

on

निकै नै रोमाञ्चक खेलमा बुटवल ब्लास्टर्ससँग सुपर ओभरमा पराजित भएपछि ज्ञानेन्द्र मल्लको काठमाडौं गोल्डेन वारियर्सले पोखरा प्रिमियर लिगमा लगातार दोश्रो पराजय बेहोरेको छ ।

पोखरा क्रिकेट मैदानमा एकपटक फेरि लामो ब्याटिङ्ग लाइन अपले खासै राम्रो प्रदर्शन गर्न नसक्दा काठमाडौलाई पवन शर्राफले २१ बलमा नटआउट ३७ रन बनाएपछि ६ विकेटको क्षतिमा १ सय ४० रन बनाएको थियो । जवाफमा बुटवलले हर्श टंकको ४५ र शिभम सिँहको आक्रमक ३३ रन बनाएपनि ब्लास्टर्स ६ विकेटको क्षतिमा १ सय ४० रनमै रोकिएको थियो ।

सुबोध भाटीले लिएर आएको सुपर ओभरमा आदिल खान र बसन्त रेग्मीले उत्कृष्ट फिल्डिङ्ग गर्दै वाइडिस थर्ड म्यानमा दुई वटा छक्का बचाएपछि बुटवलले १२ रन बनायो । बुटवलका लागि अविनास बोहोराले एक ओभरमा मात्र दुई रन खर्चिएपछि काठमाडौं पराजित हुन पुग्यो ।

सुपर ओभरको पहिलो बलमा काठमाडौंले रन बटुल्न सकेन । दोश्रो बलमा गौरभ तोमरले दुई रन बटुलेपनि तेश्रो बलमा मिड विकेटमा क्याच थमाएका थिए । स्ट्राइकमा आएका भाटीलाई अविनासले एक रन पनि नदिएपछि बुटवलले जित आफ्नो नाम गराएको थियो ।

अन्तिम ६ बलमा ९ रन चाहिएको स्थितिमा पवन शर्राफले फालेको ओभरमा शिभमले पहिलो तीन बलमा एक–एक रन लिने स्थितिमा पनि अर्को एण्डमा रहेका बिपिन खत्रीलाई फर्काएका थिए । चौथो बल वाइड भएपछि बुटवललाई तीन बलमा ८ रनको आवश्कता थियो ।
चौथो बलमा शिभमले छक्का प्रहार गर्दै पाचौंमा एक रन लिएपछि स्कोर बराबर भएको थियो । अन्तिम बलमा पवनले बिपिनलाई जयकिशन कोल्सावालाको हातबाट स्टम्पिङ्ग गराए पछि खेल सुपर ओभरमा गएको थियो ।

शिवम ३३ रनमा नटआउट रहे । उनले २१ बलमा तीन छक्का र दुई चौका प्रहार गरेका थिए । काठमाडौंलाई खेलमा फर्काउने काम भने सुबोध भाटीले गरेका थिए । अन्तिम १२ बलमा १० रन चाहिएको स्थितिमा भाटीले १९ ओभरमा सोमपाल कामी (११) र हरि बहादुर चौहानको विकेट लिदै मात्र एक रन खर्चिएका थिए ।

माथिल्लो अर्डरका ब्याट्स्म्यानहरुले उल्लेखनीय योगदान गरेपछि बुटवल खेलमा शुरु देखि नै कायम रहेको थियो । उसका लागि हर्श टंकले २९ बलमा ४५ रन प्रहार गरे । उनले तीन छक्का र तीन चौका प्रहार गरे । टंकले तेश्रो विकेटका लागि भिम सार्की (१३) सँग ४० रनको साझेदारी गरेका थिए । त्यसपछि बुटवलको इनिङ्गसलाई शिभमले सम्हालेका थिए ।

यसअघि टस हारि पहिलो ब्याटिङ्ग गरेको काठमाडौंले २० ओभरमा ६ विकेट गुमाउदै एक सय ४० रन बनायो । ओपनरद्वय कोल्सावाला र सुबाष खकुरेल (१५) ले पहिलो विकेटका लागि ३८ रन जोड्दै काठमाडौंलाई सन्तोषजनक शुरुवात दिलाएका थिए ।

तर बुटवलले उत्कृष्ट फिल्डिङ्ग गर्दै १२ रनको अन्तरमा तीन विकेट लिएपछि काठमाडौं दवाबमा आयो । ज्ञानेन्द्र (१५) र आदिल खानले ३५ रनको साझेदारी गर्दै काठमाडौंलाई १ सय रन नजिक पु¥याएका थिए ।

फ्राञ्चाइज क्रिकेटमा पहिलो खेल खलिरहेका बाया हाते स्पिनर नितेश थापाले तीन बलको अन्तरमा ज्ञानेन्द्र र खतरनाक ब्याट्स्म्यानलाई शुन्य मै पेभिलियन फर्काएपछि बुटवल खेलमा फर्किएको थियो । आदिल खानलाई पनि अविनास बोहोराले विकेट लिएपछि काठमाडौं ८९ रनमा ६ विकेटको नाजुक स्थितिमा पुगेको थियो ।

पवनले आक्रमक ब्याटिङ्ग गर्दै सातौं विकेटका लागि अमर सिँह रौटेला (१४ नटआउट) सँग ५१ रनको साझेदारी गरेपछि काठमाडौंले चुनौतिपूर्ण योगफल खडा गरेको थियो । पवनले २१ बलमा तीन चौका र दुई छक्का सहित नटआउट ३७ रन बनाए ।

प्रिथु बास्कोटाको स्थान लिएका आदिलले १५ बलमा २३ रन बनाए । उनले एक चौका र एक छक्का प्रहार गरे । बुटवलका लागि हरि बहादुर चौहानले पनि एक विकेट लिएका थिए ।

Click to comment

Trending