Headline

योगेश र दिपकको गोलमा मच्छिन्द्रको लिगमा बिजयी शुरुवात

Published

on

योगेश गुरुङ र दिपक राइले एक–एक गोल गरेपछि मच्छिन्द्र क्लबले ब्रिगेड बोइज क्लबलाई २–० ले पराजित गर्दै शहिद स्मारक ए डिभिजन लिगमा बिजयी शुरुवात गरेको छ ।

शुक्रबार दिनभरि भएको बर्षाका कारण दशरथ रँगशालाको मैदान खेल्न उपयुक्त नभएपछि मच्छिन्द्र र ब्रिगेड बोइजबीचको खेल एन्फा कम्प्लेक्सको एस्ट्रो टर्फमा खेलाइएको थियो ।

राष्ट्रिय खेलाडीहरुको बहुल्यता रहेको मछिन्द्र खेलको शुरुवादेखि नै हावी भएको थियो । १९औं मिनेटमा अभिषेक रिजाललाई पेनाल्टी बक्स बहिर लडाएपछि पाएको फ्रिकिकमा रञ्जित धिमालको प्रहार क्रसबारमा लागेर फर्किन पुगेको थियो ।

त्यसको चार मिनेटपछि नै ब्रिगेडले गोल गर्ने अवसर खेर फालेको थियो । लामो समयपछि आफ्नो पुरानो क्लब फर्किएका राष्ट्रिय टिमका पुर्व कप्तान अनिल गुरुङले बललाई पोस्टको दिशा दिन नसक्दा ब्रिगेडले खेलमा बराबरी गर्ने अवसर चुकाएको थियो ।

युवा टोलीले भरिएको ब्रिगेड बोइजलाई मछिन्द्रको बलियो अग्रपंक्तिले धेरै नै समय आफ्नै हाफमा ब्यस्त राखेको थियो । खेलको ३०औ मिनेटमा बिशाल राइलाई बिर्गेड बोइजका डिफेन्डर मनोज राइले लडाउदा मच्छिन्द्रले अर्को फ्रिकिक पायो ।

बिशालले नै प्रहार गरेको फ्रिकिक क्रसबारमा लागेर फर्कियो तर ब्रिगेडका किपर बिशाल सुनार सतर्क नहँदा योगशले रिबाउन्डमा गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाउन सफल भए । ब्रिगेडले दोश्रो हाफको शुरुवातमा केही दवाब दिन सफल भएपनि मच्छिन्द्रले लय समात्यो ।

दोश्रो हाफको पाँच मिनेटमा दिपकले तीन डिफेन्डरलाई छलाउदै पोस्ट नजिकबाट गोल गरेपछि मच्छिन्द्रको जित सुनिश्चित बनेको थियो । बिशाल खेलको म्यान अफ द म्याच घोषित भए । लिगमा आइतबार कुनै खेल हुनेछैन ।

Click to comment

Trending