Headline

ग्रिनउडको दुई गोलपछि युनाइटेड युरोपा लिगको अन्तिम १६ मा

Published

on

मेसन ग्रिनउडले दुई गोल गरेपछि इङ्गलिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

११ मिनेटको अन्तरमा चार गोल गर्दै युनाइटेडले बिहिबार राति भएको खेलमा एजेड अल्कमारलाई ४–० को फराकिलो अन्तरले हराउदै अन्तिम १६ मा प्रवेश गरेको हो । सामान्य देखिएको पहिलो हाफमा दुवै टिम गोल गर्न असफल रहेपछि एस्ली यङ्गले ५३ औं मिनेटमा जुवान माटाको क्रसमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।

माटाले युनाइटेडका लागि ८ महिनापछि पहिलो गोल गरेका हुन् । खेलमा उत्कृष्ट प्रदर्शन भने ग्रिनउडको रह्यो । युनाइटेडका लागि पहिलो पटक दुई गोल गरेका १८ बर्षीय ग्रिनउडले पहिलो गोल पेनाल्टी एरिया बाहिरबाट गरेका थिए भने दोश्रो गोलमा लेफ्ट फुटेड ड्राइभमार्फत उत्कृष्ठ फिनिसिङ गरेका थिए ।

त्यस बीचमा माटाले पेनाल्टी मार्फत युनाइटेडका लागि तेश्रो गोल गरेका थिए । माटाको यो सिजनमै पहिलो गोल थियो । सन् २०१६ मा अर्को डच टोली फेनोर्डलाई ४–० ले हराएपछि युनाइटेडको यो पहिलो ठूलो अन्तरको जित हो ।

यसअघि टोटेन्ह्याम र म्यानचेस्टर सिटीलाई हराएको युनाइटेडको यो लगातार तेश्रो जित हो ।  गएराति नै भएको अर्को खेलमा स्ट्यांडर्ड लिजसँग २–२ गोलको बराबरी गरेपछि आर्सनल पनि अन्तिम १६ मा प्रवेश गरेको छ ।

Click to comment

Trending