१३औं दक्षिण एसियाली खेलकुद

साग महिला बास्केटबलः नेपाल ऐतिहासिक फाइनलमा

Published

on

निकै नै रोमाञ्चक सेमिफाइनलमा माल्दिभ्सलाई ६८–५५ ले पराजित गर्दै नेपाली महिला टोली १३ औं दक्षिण एसियाली खेलकुदको फाइनलमा प्रवेश गरेको छ ।

नेपालले पहिलो पटक दक्षिण एसियाली खेलकुदको फाइनलमा स्थान बनाएको हो । पहिलो क्वार्टरमा १९–१३ को अग्रता बनाएको नेपालले दोश्रो क्वार्टरमा माल्दिभ्ससँग ८ अंक (३५–२७) को दुरी बनाएको थियो ।

तेश्रो क्वार्टरमा निकै सशक्त प्रदर्शन गर्दै १७ अंकको फराकिलो अग्रता बनाएपछि नेपाल खेलमा हावी भएको थियो । तर माल्दिभ्सले चौथो तथा अन्तिम क्वार्टरमा उत्कृष्ट पुनरागमन गर्दै दुरीलाई दुई मिनेट ५३ सेकेण्ड बाकी रहदा ६ अंक (५७–५१) मा झारिसकेको थियो ।

तर नेपालको लागि एक पटक फेरि अनुशा मल्लले चाहिएको बेलामा राम्रो प्रदर्शन गर्दै नेपाललाई जित दिलाउन सफल भइन् । अन्तिम क्वार्टरमा मात्रै १० अंक स्कोर गरेकी अनुशाले कुल १८ अंकको योगदान गरेकी थिइन् । यस्तै प्रतिक्षा मगर तीन वटा थ्रि पोइन्टर प्रहार गर्दै १३ अंक जोडेकी थिइन् । अन्तिम क्वार्टरमा माल्दिभ्स १७–१४ ले अघि रहेको थियो ।

नेपालले अब स्वर्ण पदकका लागि उपाधिको दाबेदार भारतसँग मङ्गलबार खेल्नेछ ।  सोमबार नै नेपाली पुरुष थ्रि अन थ्रि टोलीले रजत पदक जित्दै नेपालका लागि पहिलो रजत पदक जितेको थियो । यस्तै महिला टोलीले कास्य पदक जित्यो ।

पुरुषको फुल कोर्टमा भारतसँग सेमिफाइनलमा पराजित भएको नेपालले कास्य पदकका लागि मङ्गलबार नै बङ्गलादेशको सामना गर्नेछ ।

Click to comment

Trending