१३औं दक्षिण एसियाली खेलकुद

साग महिला बास्केटबलः अनुशाको उत्कृष्ट प्रदर्शनपछि नेपाल सेमिफाइनलमा

Published

on

अनुशा मल्लको प्रेरणादायी प्रदर्शनमा नेपाली महिला बास्केटबल टोली १३ औं दक्षिण एसियाली खेलकुदको सेमिफाइनल प्रवेश गरेको छ ।

समुह बी को आफ्नो दोश्रो तथा अन्तिम खेलमा नेपालले आइतबार सशक्त प्रदर्शन गर्दै भुटानलाई ८७–४६ ले पराजित ग¥यो । नेपालले अब फाइनल प्रवेशका लागि आइतबार माल्दिभ्सको सामना गर्नेछ । अर्को सेमिफाइनलमा भारतले भुटानसँग खेल्नेछ ।

नेपालको जितमा अनुशाको भुमिका निर्णायक रह्यो । उत्कृष्ट ड्रिब्लिङ्ग र बलमाथिको नियन्त्रण गर्दै अनुशाले नेपाली टिमको जितलाई सहज बनाएकी थिइन् । उनले नेपालका लागि सर्वाधिक २२ अंक स्कोर गरिन् । यस्तै प्रतिक्षा मगरले १४, प्रिति तुलाचनले १४ र एलिना गुरुङले १० अंकको योगदान दिएकी थिइन् ।

एलिनाको थ्रि पाइन्टरबाट खाता खोलेको नेपालले पहिलो क्वार्टरमै १७ अंक (२७–१०) को अग्रता लिदै खेलमा आफ्नो दाबेदारी प्रस्तुत गरेको थियो । दोश्रो क्वार्टरमा प्रतिक्षाले सात अंक स्कोर गरेपछि नेपालले दोश्रो हाफमा प्रवेश गर्दा ४३–२४ को अग्रता बनाइसकेको थियो ।

भुटानको लागि खेल तेश्रो क्वार्टरमा लगभग समाप्त भएको थियो । ६ मिनेट ५९ सेकेण्ड बाकी रहँदा ५४–३२ को अग्रता लिएको नेपालले लगातार १३ अंक स्कोर गरेपछि दशरथ रँगशालास्थित कभर्ड हलमा ३५ (६७–३२) अंकले अघि बढ्यो । यस क्रममा नेपालका लागि अनुशाकी दिदि अलिशाले दुई तथा अनुशा र प्रिति तुलाचनले एक–एक थ्रि पोइन्टर प्रहार गरेका थिए ।

अन्तिम क्वार्टरसम्म पुग्दा नेपाल ७२–३६ ले अगाडी रह्यो । अन्तिम क्वार्टरमा पनि नेपाल १३–१० ले अघि रहेको थियो । नेपालले आफ्नो पहिलो खेलमा बङ्गलादेशलाई ९२–७ को फराकिलो अन्तरले पराजित गरेको थियो ।

Click to comment

Trending