१३औं दक्षिण एसियाली खेलकुद

गौरिकालाई अर्को स्वर्ण, नेपाली साग इतिहासकै सफल खेलाडी बन्न सफल

Published

on

गौरिका सिँहले नेपालको लागि १३ औं दक्षिण एसियाली खेलकुदमा दोश्रो स्वर्ण पदक जितेकी छिन् ।

सातदोबाटोस्थित स्विमिङ्ग कम्प्लेक्समा शुक्रबार सम्पन्न २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी हुन् । उनले बिहिबार २ सय मिटर फ्रि स्टाइल जित्दै नेपालको लागि अन्तर्राष्ट्रिय स्विमिङ्गमै पहिलो स्वर्ण जितेकी थिइन् । गौरिकाले ब्याकस्ट्रोक जित्ने क्रममा दुई मिनेट १७ दशमलव ७३ सेकेण्ड लगाएकी थिइन् । यस क्रममा उनले राष्ट्रिय किर्तिमान पनि कायम गरिन् ।

यसअघिको किर्तिमान पनि उनकै नाममा रहेको थियो । भारतकी मन्ना राजिभ पटेलले (२ः२०.७१) र श्रीलंकाकी गँगा सेन मलावाथागेले (२ः२७.७१) मिनेटको समय लगाएका थिए ।

शुक्रबार स्वर्ण जिते लगत्तै गौरिकाले आफूले अझै स्वर्ण पदक जित्न बाकी रहेको भन्दै मिडियासँग धेरै कुराकानी नगर्ने बताएकी थिइन् ।
दक्षिण एसियाली खेलकुदको एकै संस्करणमा दुई स्वर्ण सहित तीन पदक जित्ने गौरिका एक मात्र नेपाली खेलाडी बनेकी छिन् । उनले दुई स्वर्ण र एक कास्य पदक जितिसकेकी छिन् ।

जारी सागमा नेपालले गौरिकाको उपलब्धिसँगै ४१ औ स्वर्ण पदक जितिसकेको छ । नेपालले शुक्रबार मात्रै पाँच स्वर्ण जितेको हो । बिहान एथ्लेटिक्सको पाँच हजार मिटर दौडमा गोपी चन्द्र पार्कीले स्वर्ण जितेका थिए । मिडल डिस्ट्यान्सको दौडमा अन्तर्राष्ट्रिय स्वर्ण जित्ने गोपी पहिलो धावक पनि बनेका छन् । यसअघि सन्तोषी श्रेष्ठ १० हजार मिटरको स्वर्ण जिच्दै नेपालको लागि एथ्लेटिक्समै अन्तर्राष्ट्रिय स्वर्ण जित्ने पहिलो महिला बनेकी थिइन् ।

यस्तै गल्फमा पनि नेपालले दुई स्वर्ण पदक प्राप्त गरेको थियो । सुबास तामाङ्गबाट ब्यक्तिगत स्वर्ण जितेको नेपालले टिम इभेन्टमा पहिलो स्थान हात पारेको थियो । दिनको तेश्रो स्वर्ण भारत्तोलनका बिकास थापाको नाममा रहेको थियो ।

बिकासले ८९ केजी तौल समुहमा स्वर्ण जित्दै नेपाल पुरुष भारत्तोलनमा ९ बर्षपछि सागमा स्वर्ण जितेको हो । यसअघि सन् २०१० मा ढाकामा भएको सागमा कमल बहादुर अघिकारीले नेपालका लागि स्वर्ण जितेका थिए । यो संस्करणमा कमल रजत पदकमा खुम्चिन पुगे ।

2 Comments

Trending