१३औं दक्षिण एसियाली खेलकुद

फाइनल प्रवेश गर्ने लक्ष्यका साथ क्रिकेटमा नेपाल श्रीलंकाको सामना गर्दै

Published

on

दिपेश पण्डित, काठमाडौं

दक्षिण एसियाली खेलकुदमा दोश्रो पटक क्रिकेट समावेश हुँदा आयोजक नेपाल आफ्ना घरेलु समर्थकहरुको साथमा फाइनल प्रवेश गर्ने प्रयासमा हुनेछ । सन् २०१० मा बङ्गलादेशमा आयोजना भएको ११ औं सागमा समावेश भएको ६ बर्षपछि भारतमा भएको १२ औं संस्करणमा क्रिकट राखिएको थिएन ।

दक्षिण एसियाली खेलकुदमा क्रिकेट समावेश गरिदा बिश्व क्रिकेटमा उदाउदै गरेको नेपालजस्तो देशले बलिया बिपक्षीहरुसँग खेल्ने बिरलै अवसरबाट राम्रै फाइदा उठाउन सक्छ । भारतीय उपमहाद्विपका अन्य दुई ठूला राष्ट्रहरु भारत र पाकिस्तान नआउने भएपनि नेपालमा जारी १३ औं संस्करणमा बङ्गलादेश र श्रीलंंका जस्ता अन्य दुई ठूला टिमको उपस्थिति रहेको छ ।

अन्तिम पटक सन् २०१० मा बंग्लादेशले आयोजना गरेको सागमा व्यहोरेको तितो हारको यथार्थ भुलाउन प्रयासरत नेपालको यसपटक सागको मुख्य लक्ष्य सकेसम्म फाइनल प्रवेश गर्नु नै हुनेछ । मङ्गलबार त्रिवि क्रिकेट मैदानमा खस्कदै गरेको श्रीलंका विरुद्ध जित निकाल्दै नेपाल फाइनलसम्मको यात्रा तय गर्ने कोशिशमा हुनेछ ।

यद्दपी नेपालका लागि श्रीलंका र बंङ्गलादेशका अण्डर २३ टिमलाई पराजित गर्न भने फलामको चिउरा चपाउनु सरह रहनेछ । राउण्ड रोबिन फम्र्याटमा खेलिने यस टि२० प्रतियोगिताका अन्य दुई टोलीमा मालदिभ्स र भुटान रहेका छन् । श्रीलंका र बङ्गलादेशका टोलीले २३ वर्ष माथिका ३ खेलाडीको प्रयोग गर्न पाउने छन् ।

नेपाली क्रिकेटको साग ईतिहास
सन २०१० मा बंग्लादेशमा भएको सागको सहभागितामा नेपाली क्रिकेट टोलीको प्रदर्शन विर्सनलायक नै मान्न सकिन्छ । लिगका ४ खेल र तेश्रो स्थानका लागि १ गरी कुल ५ खेल मध्ये एक मात्र जित्न सफल नेपाल चौंथो स्थानमा रहेको थिया े।

नेपालसंग पहिलो खेलमा ८ विकेटले विजयी भएको बंग्लादेशले अन्त्यमा श्रीलंकालाई फाईनलमा हराई स्वर्ण चुम्न सफल भएको थियो । दोस्रो खेलमा श्रीलंकासंग ६४ रनले पराजित भएको नेपालले तेश्रो खेलमा पाकिस्तानसंग ९१ रनले पराजित हुन पुग्यो ।

चौंथो खेलमा कमजोर मानिएको मालदिभ्समाथि १० विकेटको जित निकाल्न सफल हुंंदा तेश्रो स्थानका लागि अन्तिम खेलमा पाकिस्तानसंग २ विकेटले पराजित भएको थियो । उक्त प्रतियोगितामा नेपालको तर्फबाट सर्वाधिक विकेट लिन सफल हाल नेपाली राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल रहेका थिए । उनले ६ विकेट लिएका थिए ।

नेपाली क्रिकेट टिम

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाल क्रिकेट टिमले हालको अवस्थामा सर्वाधिक सफल लेग स्पिनर सन्दिप लामिछानेबिना मैदानमा उत्रने छ । लामिछाने आंखाको उपचार तथा बिश्रामका लागि टिम बाहिर रहेका छन् । निरन्तर बन्द प्रशिक्षणमा रहेको राष्ट्रिय क्रिकेट टोलीले यही प्रतियोगिता मार्फत आफूलाई ब्याटिङमा साबित गर्ने धुनमा हुनेछ ।

सबैभन्दा बढी दवाब भने कप्तान ज्ञानेन्द्रमै हुनेछ जसले पछिल्लो समय आफूले खेलेका पाँच इनिङ्गमा सर्वाधिक २२ रन बनाएका छन् भने त्यसमा तीन डक आउट पनि सामेल रहेका छन् । नेपालको ब्याटिङ्ग यसपटक फेरि पुर्व कप्तान पारस खड्कामै केन्द्रित हुनेछ ।

राष्ट्रिय क्रिकट टोलीबाट राजीनामा दिइसकेपछि पारस नेपालका लागि पहिलो खेल खेल्दैछन् । श्रीलंकाबिरुद्ध उनले नै नेपालका लागि ओपनिङ्ग गर्नेछन् । पछिल्लो केही समययता ट्वान्टी ट्वान्टी क्रिकेटमा पारसले नै नेपालको लागि ओपनिङ्गको जिम्मेवारी सम्हालिरहेका छन् ।

आशा लाग्दा मिडियम पेशर तथा युवा खेलाडी रशिद खानको लागि भने यस प्रतियोगिता आफ्नो करियरको टर्निङ पोईन्ट बन्न सक्छ । राम्रो अल राउण्डरको रुपमा अघि आएका रशिद पहिलो पटक नेपाली सिनियर टोलीबाट खेल्दैछन् ।

नेपाली टिमः ज्ञानेन्द्र मल्ल, पारस खड्का, दिपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी, बिनोद भण्डारी, अविनास बोहोरा, सन्दिप जोरा, आरिफ शेख, पवन सर्राफ, ललित नारायण राजवंशी, कुशल भुर्तेल, सुशन भारी, राशिद खान, रोहित कुमार पौडेल

बलिया प्रतिद्वन्दी

नजमुल हुसेन सान्टोको कप्तानीमा रहेको बंग्लादेश घरेलु क्रिकेट टिमको लागि टाउको दुखाईको विषय बन्न सक्छ । बंग्लादेशको तर्फबाट राष्ट्रीय टोलीमा डेब्यु गरिसकेका सौम्य सरकार, मोहम्मद नयीम र अफीफ हुसेन जस्ता खेलाडी रहेको टिममा २३ वर्ष माथिका सौम्य सरकार सहीत वायां हाते स्पीनर तनबीर ईस्लाम र दायां हाते ब्याट्सम्यान यासीर अली रहेका छन ।

यस्तै हालै भारतसंगको टेस्टमा घाईते बनी डेब्युबाट चुकेका युवा ब्याट्सम्यान सैफ हसन नेपाली बलरमाथि हावी बन्न सक्छन् । नेपाल आएको बङ्गलादेशको यही टोलीले नै हालै आफ्नो घरेलु मैदानमा एसिसि इमर्जिङ्ग टिम्स कपका दौरान भारतलाई पराजित गर्दा फाइनलमा पनि स्थान बनाएको थियो ।

चरिथ असलंकाको कप्तानी रहेको श्रीलंकाली टोली अनुभवी बलर कामिन्दु मेन्डिसको आगमनले बलियो बनेको छ । ईंग्ल्यान्डविरुद्ध ट्वान्टी२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका मेन्डिस उनै बलर हुन जसले न्युजिल्यान्डको अण्डर–१९ विश्वकपमा दुवै हातले बलिङ गरेर सनसनी मच्चाएका थिए । उनले दक्षिण अफ्रिका विरुद्द एकदिवसीयमा डेब्यु गरिसकेका छन् । नेपालका लागि बंग्लादेश र श्रीलंका दुवै बलिया प्रतिद्वन्दी रहनेछन् भने भुटान र मालदिभ्सविरुद्द स्पष्ट जितको अपेक्षा गर्न सकिनेछ ।

Click to comment

Trending