१३औं दक्षिण एसियाली खेलकुद

सागमा हाम्रो लक्ष्य स्वर्ण पदक होः बङ्गलादेश कप्तान सान्टो

Published

on

१३ औं दक्षिण एसियाली खेलकुदको पुरुष क्रिकेटका लागि बलियो टिमको घोषणा गरेको बङ्गलादेशका कप्तान नाजमुल होसेन सान्टोले आफ्नो टोलीको लक्ष्य स्वर्ण पदक रहेको बताएका छन् ।

बङ्गलादेशले शुक्रबार साँझ घोषणा गरेको टोलीमा लामो अनुभव बटुलेका सौम्य सरकारसँगै अफिफ होसेन र नइम शेख पनि रहेका छन् । २६ बर्षीय सरकार यसअघि बङ्गलादेशमै सम्पन्न एसिसि इमर्जिङ्ग टिम्स कपमा पनि सामेल रहेका थिए । इमर्जिङ्ग टिम्सको फाइनल पुगेको बङ्गलादेश उपाधिका लागि भएको खेलमा पाकिस्तानसँग हारेको थियो ।

बङ्गलादेशले लगभग त्यही टिमलाई निरन्तरता दिएको छ । भारत र पाकिस्तानले पुरुष क्रिकेटमा सहभागिता नजनाउने भएपछि बङ्गलादेश स्वर्ण पदकको प्रबल दाबेदारको रुपमा अघि आएको छ । दक्षिण एसियाली खेलकुदमा श्रीलंकाको अण्डर २३ टिमले पनि खेल्नेछ र यसअघि नै उसले आफ्नो टिम घोषणा गरिसकेको छ ।

“हामी दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्ने लक्ष्य साथ गइरहेका छौं, कप्तान घोषित भएपछि सान्टोले भने । जहासम्म मलाई लाग्छ, नेपालमा अहिले निकै चिसो छ र हामीले जतिसक्दो चाडो त्यहाको मौसममा भिज्न आवश्यक छ ।”

टोलीका सबैभन्दा अनुभवी खेलाडी सरकारले बङ्गलादेशका लागि ५५ एकदिवसीय अन्तर्राष्ट्रिय, ४६ ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय र १५ टेस्ट खेलिसकेका छन् । अर्का अनुभवी खेलाडी अफिफ हुसेनले पनि ८ टेस्ट खेलेका छन् । सान्टो आफैले दुई टेस्ट र तीन एकदिवसीय खेलेका छन् ।

दक्षिण एसियाली खेलकुदमा बङ्गलादेश र श्रीलंकाको अण्डर २३ टिमसँगै आयोजक नेपाल, माल्दिभ्स र भुटानले सहभागिता जनाउने छन् । मङ्गलबारदेखि त्रिवि क्रिकेट मैदानमा शुरु हुने पुरुष क्रिकेटको उद्घाटन खेलमा नेपालले श्रीलंकाको सामना गर्नेछ । पुरुष क्रिकेटले दक्षिण एसियाली खेलकुदमा ९ बर्षपछि पुनरागमन गरेको हो । हुन त २०१० मा बङ्गलादेशमै भएको ११ औं संस्करणपछि भारतमा २०१६ मा १२ औं संस्करण सम्पन्न भएको थियो ।

सागका लागि बङ्गलादेशी टोलीः नाज्मुल होसेन सान्टो (कप्तान), मोहम्मद सैफ हसन, नइम शेख, अफिफ होसेन, जाकिर हसन, यासिर अलि चौधुरी, सैयद अफ्रिदी, सुमोन खान, माहिदुल इस्लाम अन्कोन, तन्विर इस्लाम, माणिक खान, मेहेदी हसन, सौम्य सरकार, महदी हसन, हसन महमुद

Click to comment

Trending