१३औं दक्षिण एसियाली खेलकुद

बलियो भारतसँग भिड्दै नेपाली महिला भलिबल टोली 

Published

on

१३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिबलको आफ्नो दोश्रो खेलमा नेपाली महिला भलिबल टोली भारतसँग भिड्दै छ । खेल नेपाली समय अनुसार साँझ ५:०० बजे शुरु हुनेछ । 

 हालै बङ्गलादेशमा सम्पन्न एभिसि सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि बिजेता नेपाली टोलीले आजको खेलमा भारतलाई पराजित गर्न सकेको खण्डमा सेमीफाइनलको यात्रा तय गर्नेछ । आज पराजित भएता पनि अर्को खेलमा भारतले बंगलादेशलाई पराजित गरेमा नेपालले सेमीमा प्रवेस पाउने छ ।

साग अन्तर्गत महिला भलिबलको आफ्नो पहिलो खेलमा बंगलादेश बिरुद्ध बल फर्काउँदै पुनम चन्द ।                        तस्बिर : कौशल अधिकारी / विस्पोर्ट्ज़

भारतलाई पराजित गर्न भने नेपाललाई त्यती सहज भने हुने छैन । भारत नेपाल भन्दा निकै नै बलियो टोली हो । भारत साग अन्तर्गत महिला भलिबलको साबिक बिजेता हो भने भारतमा २०१६ मा सम्पन्न १२औं सागमा नेपालले तेश्रो स्थान हात पारेको थियो । त्यस्तै दक्षिण एसियाली क्षत्रमा श्रीलंका पनि बलियो टोली मानिन्छ ।

 पछिल्लो समय गर्दै आएको प्रदर्शन तथा घरेलु मैदान र घरेलु समर्थकका कारण नेपाल आजको खेलमा हाबी हुने अपेक्क्षा गर्न सकिन्छ । नेपाली टोली तथा नेपाली टोलीका प्रशिक्षक जगदिश भट्ट सागमा लक्ष्य नै स्वर्ण भएको बताउँदै आएका छन् । स्वर्ण जीत्ने लक्ष्य राख्ने हो भने नेपालले आज भारतलाई पराजित गर्दै आफु अब्बल भएको प्रमाणित गर्न पर्नेछ ।    
 
दशरथ रंगशालास्थित कभर्ड हलमा भएको खेलमा आफ्नो पहिलो खेलमा नेपालले बङ्गलादेशलाई सोझो सेटमा पराजित गरेको थियो । पहिलो दुई सेट २५–९, २५–९ ले जित्दै २–० को अग्रता लिएपछि बङ्गलादेश नेपाल सामु निरिह साबित भएको थियो । तेश्रो सेटमा पनि नेपाल २५–११ ले बिजयी भएको थियो ।

Click to comment

Trending