Trending

घरेलु मैदानमै रोकियो लिभरपुल, नकआउट प्रवेशका लागि साल्जबर्गसँग अंक आवश्यक

Published

on

एन्फिल्डमै नापोलीसँग १–१ गोलको बराबरीमा रोकिएपछि डिफेन्डिङ्ग च्याम्पियन लिभरपुलको च्याम्पियन्स लिगको अन्तिम १६ पर्खाइ थप लम्बिएको छ ।

घरेलु मैदानमा भएको खेलमा जित हात पारेको खण्डमा लिभरपुल समुह इ को बिजेताको रुपमा प्रि–क्वार्टरफाइनल प्रवेश गर्ने थियो तर पहिलो हाफको बीचमै लिभरपुल पछाडी पर्न गयो । बेल्जियन ड्रायस मेर्टेन्सले अफ साइड ट्रयाप बिट गर्दै गोल गरेपछि नापोलिले खेलमा अग्रता लिएको थियो ।

पहिलो हाफकै अन्त्यतिरै बराबरी गर्ने मौका पाएपनि जेम्स मिल्नर त्यसमा चुक्न पुगे । दोश्रो हाफमा सुधारिएको प्रदर्शन गरेको लिभरपुलका लागि ६५ औं मिनेटमा डेजान लोभ्रेनले कर्नरमा हेडिङ्गमार्फत गोल गरेपछि लिभरपुल समर्थकहरुले राहतको सास फेरेका थिए ।

अन्तिम समयतिर लिभरपुलले गोलका लागि भरमग्दुर प्रयास गरेपनि नापोली रक्षापंक्ति दृढ रहेको थियो । डिसेम्बर १० मा अष्ट्रियन साल्जबर्गबिरुद्धको अवे खेलमा लिभरपुललाई अब कम्तिमा पनि बराबरीको आवश्यकता रहेको छ ।

लिभरपुल पराजित भएको खण्डमा जेन्कले नापोलीलाई पराजित गर्नुपर्नेछ । अंक तालिका लिभरपुरको १० अंक रहेको छ भने नापोलीको ९ र साल्जबर्गको ७ अंक रहेको छ ।

बुधबार नै अर्को इङ्गलिस टोली चेल्सी भ्यालेन्सियासँग २–२ को बराबरीमा रोकिएपछि उसको पनि अन्तिम १६ मा प्रवेश गर्ने आशा अन्तिम खेलमा नै निर्भर रहन गएको छ । १–० ले पछि परेको स्थितिबाट चेल्सीले एक खुट्टा प्रि–क्वार्टर फाइनलमा राखिसकेको थियो ।

क्रिष्चियन पुलिसिचले दोश्रो हाफमा चेल्सीलाई २–१ को अग्रता दिलाएको स्थितिमा गोलकिपर केपा अरिजाबालागाले ड्यानियल परेजोको पेनाल्टी रोकेका थिए । तर ८ मिनेट बाकी रहेको स्थितिमा ड्यानियल वासले निकालेको पास गोलमा परिणत भएपछि चेल्सी रोकिन पुग्यो ।

स्पेनिस क्लब भ्यालेन्सियालाई कार्लोस सोलरले ४० औं मिनेटमा अग्रता दिलाएपनि त्यसको एक सय ८ सेकेण्डपछि नै माटिओ कोभाचिचले बराबरी गरेका थिए । डच क्लब आयाक्स १० अंकले अग्र स्थानमा रहेको समुह एच मा भ्यालेन्सिया र चेल्सी दुवैको ८–८ अंक रहेको छ ।

चेल्सीले अब आफ्नो अन्तिम खेलमा फ्रेन्च क्लब लिलेलाई पराजित गरे अन्तिम १६ मा प्रवेश गर्नेछ । बराबरी अथवा पराजित भएको खण्डमा उ आयाक्स र भ्यालेन्सियाबीचको खेलमा निर्भर गर्नेछ । आयाक्सले लिलेलाई २–० ले पराजित गरेको थियो ।

Click to comment

Trending