Headline

पारसले ऐतिहासिक शतक प्रहार गरेपछि नेपालको सिँगापुरबिरुद्ध फराकिलो जित

Published

on

कप्तान पारस खड्काले नेपाली क्रिकेट इतिहासमै पहिलो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय शतक प्रहार गरेका छन् ।

पारसले सिँगापुरमा जारी ट्वान्टी ट्वान्टी ट्राई सिरिजमा उत्कृष्ट ब्याटिङ्ग गर्दै ४९ बलमै देशको लागि पहिलो शतक पुरा गरेपछि नेपालले आयोजक सिँगापुरलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ । पारस एकदिवसीय अन्तर्राष्ट्रियमा पनि शतक पुरा गर्ने नेपालको एक मात्र क्रिकेटर हुन् ।

यसअघि नेपालको लागि ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा सबैभन्दा ठूलो स्कोरको किर्तिमान पनि पारसकै नाममा रहेको थियो । उनले मलेसियाबिरुद्ध जुलाईमा ८६ रन बनाएका थिए । जितका लागि १ सय ५२ रनको मध्यम योगफल पछ्याउने क्रममा नेपालले १५ ओभरमै मात्र एक विकेटको क्षतिमा १ सय ५४ रन बनायो ।

अर्को किर्तिमान कायम गर्ने क्रममा पारसले ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय इतिहासमा नेपालका लागि सबैभन्दा ठूलो साझेदारी पनि गरेका छन् । उनले दोश्रो विकेटका लागि आरिफ शेखसँग अविजित १ सय ४५ रनको साझेदारी गरे ।

४९ बलमै शतक पुरा गरेका पारसले ९ छक्का र सात चौकाको मद्दतमा १ सय ६ रन बनाए । उनले कुल ५२ बलको सामना गरेका थिए । आरिफले ३८ बलमा ३९ रन बनाए । उनले पाँच चौका हिर्काए ।

यसअघि टस जिति पहिलो ब्याटिङ्ग गरेको सिँगापुरले कप्तान टिम डेविडको ६४ रनको मद्दतमा २० ओभरमा तीन विकेट गुमाउदै १ सय ५१ रन बनाएको थियो । बलरको लागि कठिन देखिएको पिचमा नेपालका लागि पहिलो विकेट करण केसीले लिए ।

करणले ६ रन बनाएका रोहन रँगराजनलाई बिनोद भण्डारीको हातबाट क्याच आउट गराए । डेविडले त्यसपछि सिँगापुरको इनिङ्गस सम्हालेका थिए । उनले दोश्रो विकेटका लागि सुरेन्द्र चन्द्रमोहनसँग ३५ रनको साझेदारी गरे ।

पहिलो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलिरहेका सुसन भारीले आक्रमक ब्याटिङ्ग गरेका ओपनर सुरेन्द्र चन्द्रमोहनलाई बोल्ड गर्दै ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय करिअरको पहिलो विकेट चट्काए । त्यसपछि डेविडले तेश्रो विकेटका लागि मनप्रित सिँहसँग ४५ रन जोडेका थिए ।
चौथो विकेटका लागि डेविडले जनक प्रकाशसँग ४९ रन जोडेका थिए । प्रकाशले १८ बलको सामना गर्दै २५ रन बनाए । उनले तीन चौका र एक छक्का प्रहार गरे । ४४ बल खेलेका डेविडले चार बिशाल छक्का र तीन चौका हिर्काए ।

यसअघि जुलाईमा भएको आईसिसि ट्वान्टी ट्वान्टी वल्र्ड कप क्वालिफायरमा पनि नेपाललाई पराजित गर्दा डेविडले ४३ बलमै आक्रमक ७७ रन बनाएका थिए । नेपालका लागि करणले दुई विकेट लिने क्रममा ३४ रन खर्चिए । निकै महँगो साबित भएका सोमपाल कामीले चार ओभरमा ४४ रन दिएका थिए ।

नेपालले शुक्रबार भएको पहिलो खेलमा जिम्बाब्वेसँग पाँच विकेटको पराजय बेहोरेको थियो । जिम्बाब्वेबिरुद्ध उत्कृष्ट बलिङ्ग गर्दै तीन विकेट लिएका लेग स्पिनर सन्दिप लामिछाने विकेट बिहिन रहे पनि मात्र १८ रन खर्चिए ।

चन्द्रमोहनले पनि सिँगापुरका लागि छिटो छरितो रुपमा रन बटुल्ने क्रममा पाँच चौका र एक छक्का प्रहार गर्दै २६ बलमा ३५ रन बनाए । नेपालले पहिलो खेलमा जिम्बाब्वेसँग पाँच विकेटको पराजय बेहोरेको थियो ।

Click to comment

Trending