जर्मनी र नेदरल्याण्ड्स कतारमा अर्को बर्ष हुने २०२२ बिश्वकप नजिक पुगेका छन् । शुक्रबार भएका खेलहरुमा जर्मनीले रोमानियालाई २–१ ले हरायो भने नेदरल्याण्ड्सले लाट्भियामाथि १–० को कठिन जित हात पार्यो ।
चार पटकको बिश्व बिजेताले समुह जे मा ६ अंकको फराकिलो अग्रता बनाइसकेको छ । सोमबार हुने नर्थ मेसेडोनियाबिरुद्धको खेलमा जित हात पारेको खण्डमा उसलाई एक अंक पनि पर्याप्त हुनेछ ।
यद्दपि जर्मनीका लागि रोमानियाबिरुद्धको खेल भने निकै कठिन रह्यो । जर्मनी घरेलु मैदानमा ९ मिनेटमै पछि परेपछि स्तब्ध भएको थियो । यानिस हाजीले गोल गर्दै रोमानियालाई अग्रता दिलाएका थिए ।
दोश्रो हाफको ७ मिनेटमा सर्जि नाब्र्रीले जर्मनीको लागि ३० औं अन्तर्राष्ट्रिय खेलमा २० औं गोल गर्दै जर्मनीलाई खेलमा फर्काएका थिए । खेल सकिन ९ मिनेट बाँकी रहेको अवस्थामा थोमस मुलरले बिजयी गोल गरे ।
मुलरको १ सय ७ औं खेलमा ४० औं गोल थियो ।
डेभि क्लासेनले १९ औं मिनेटमा आकर्षक भलि प्रहार गर्दै गोल गरेपछि नेदरल्याड्सले अवे खेलमा लाट्भियाबिरुद्ध तीन अंक बटुल्न सफल भयो । समुहज जीमा नेदरल्याण्ड्सको नर्वेसँग दुई अंकको अग्रता रहेको छ ।
नर्वेले तेश्रो स्थानको टर्कीसँग १–१ को बराबरी खेल्यो ।
समुह इ मा आरोन राम्से र ड्यानियल जेम्सले गोल गरेपछि वेल्सले चेक रिपब्लिकसँग प्रागमा २–२ को बराबरी खेल्यो । दुवै टोलीको समुहमा समान ८ अंक रहेको छ तर बेल्जियभन्दा ८ अंकले पछाडी रहेका छन् । वेल्सको हातमा एक खेल रहेको छ ।
साइप्रसमाथि ३–० को सहज जितपछि समुह एचमा क्रोएसियाले आफ्नो अग्रतालाई कायमै राखेको छ । रुससँग समान १६ अंक रहेपनि क्रोएसिया गोल अन्तरको आधारमा अघि छ ।
रुसले स्लोभाकियालाई १–० ले हरायो । युरोपियन छनौटमा समुहमा शिर्ष स्थान ओगट्ने टोली सिधै बिश्वकप प्रवेश गर्नेछन् भने दोश्रो स्थानमा रहेका टोलीहरुले प्लेअफ खेल्नेछन् ।
मुम्बई इन्डियनले १५ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को अन्तिम लिग खेलमा दिल्ली क्यापिटल्स माथि पाँच विकेटको सहज जित निकाल्दा रोयल च्यालेन्जर्स बेंगलोरको भाग्य चम्किएको छ । प्लेअफमा प्रवेश पाउनका लागि आफ्नो अन्तिम लिग खेलमा मुम्बई माथि जित निकाल्नै पर्ने समीकरण रहे पनि हारको सामना गर्दा दिल्लीको प्लेअफ खेल्ने सपना चकनाचुर भएको छ । दिल्लीले हार्दा भाग्य चम्किएको बेंगलोरअंक तालिकामा चौथो स्थान हात पार्दै प्लेअफको यात्रा तय गर्यो ।
गुजरात टाइटान्स २० अंक सहित पहिलो, राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्सको समान १८-१८अंक रहे पनि नेट रन रेटका आधारमा राजस्थान दोश्रोर लखनउ तेश्रो तथा १६ अंक सहित बेंगलोर चौथो हुँदै प्लेअफको टिकट काट्न सफल भएका छन् ।
दिल्लीले दिएको १६० रनको मध्यम लक्ष्य मुम्बईले १९ दशमलब एक ओभर खेल्दै पाँच विकेट गुमाएर जित दर्ता गरायो ।
मुम्बईका ओपनर तथा कप्तान रोहित शर्मा १३ बल खेल्दै मात्र दुई रन बनाएर आउट हुँदा खराब सुरुवात गरे पनि अर्का ओपनर इशानकिशनले ३५ बलमा ४८ तथा डेवाल्डब्रेविसले ३३ बलमा ३७ रनको पारी खेल्दै पारी सम्हाले । उनीहरुले ५१ रनको साझेदारी गर्दै आफ्नो टोलीलाई जित तर्फ लगे पनि उनीहरुको विकेटको पतन पछि मुम्बई १४ दशमलब तीन ओभरमा ९५ रनको अवस्थामा खुम्चिन पुग्यो ।
अन्तिम ३३ बलमा मुम्बईलाई ६४ रन आवश्यक रहेको अवस्थामा टिम डेविड र तिलक वर्माले २० बलमा ५० रन प्रहार गर्दै मुम्बईको जित सुनिश्चित गरे । डेविड ११ बल खेल्दै दुई चौका र चार छक्का सहित ३४ रन बनाएर आउट भए पनि वर्माले १७ बलमा अविजित २१ तथा रमनदिप सिंहले ६ बलमा १३ रन प्रहार गर्दा दिल्लीको प्लेअफको सपना तुहियो ।
दिल्लीका एनरिचनोर्किए र शार्दुल ठाकुरले समान २-२ तथा कुलदिप यादवले एक विकेट निकाले पनि आफ्नो टोलीलाई जित दिलाउन पर्याप्त रहेन ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा सात विकेट गुमाएर १५९ रनको मध्यम योगफल मात्र बनाउन सक्यो ।
दिल्लीको तर्फको रोवमन पावेलले सर्वाधिक ४३ रन बनाए भने कप्तान ऋषभ पन्तले ३९ तथा ओपनर पृथ्वी शले पनि २४ रनको पारी खेले । दिल्लीका ओपनर डेविड वार्नर पाँच तथा तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका मिचेलमार्श गोल्डेन डकआउट भए । त्यस बाहेक सरफराज खान १०, शार्दुल ठाकुर चार रनमा पेभेलियन फर्कँदा अक्सर पटेलले १९ रनको योगदान दिए ।
मुम्बईका जस्प्रितबुम्राले सर्वाधिक तीन तथा रमनदिप सिंहले दुई विकेट हात पार्दा ड्यानियल साम्स र मायंकमार्कंडेले पनि समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।
यस अघि नै शृंखला गुमाइसकेको नेपालले युगान्डा विरुद्ध लगातार दोश्रो जित हात पारेको छ । सुरुवाती तीन खेलमा हारको सामना गर्दा शृंखला गुमाएको नेपालले पाँचौं तथा अन्तिम खेलमा ३३ रनको जित निकाल्दा पाँच खेलको शृंखला ३-२ ले गुमाएको हो ।
नेपालले दिएको १२४ रनको लक्ष्य दिएर ब्याटिङमा आएको युगान्डाले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो ।
युगान्डाका रिटामुसमालीले सर्वाधिक २६, ओपनर केविनअविनोले १५, शाकिरा सादिकले अविजित १३ तथा जानेटएमबाबाजीले १० रन प्रहार गरे पनि जितका लागि पर्याप्त भएन ।
नेपालको जितमा इन्दु वर्मा र सिता राना मगरले समान २-२ विकेट हात पार्दा अस्मिना कर्माचार्य र हिरनमायी रोयले समान १-१ विकेट आफ्नो नाममा दर्ता गरे । समान ४-४ ओभर बलिङ गरेका इन्दुले १२, सिता राना मगरले १५ तथा रोयले १७ रन खर्चिए ।
यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १२३ रनको विशाल योगफल बनायो ।
नेपालको तर्फबाट कीर्तिमानी अर्धशतक बनाउनबाट एक रनले चुकेकी ज्योति पाण्डेले सर्वाधिक ४९ रन बनाइन् । अर्धशतक बनाउनका लागि सर्ट सिंगल लिने प्रयासमा रन आउट भएकी पाण्डेले ६१ बल खेल्दै तीन चौका प्रहार गरिन् । उनी घरेलु मैदानमा ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा अर्धशतक बनाउने पहिलो खेलाडी बन्ने किर्तिमानबाट चुकेकी हुन् ।
ज्योति बाहेक नेपालको तर्फबाट कबिता जोशीले दुई चौका र एक छक्का सहित अविजित १८, ओपनर सिता राना मगरले १७ तथा अप्सरी बेगमले ११ रनको पारी खेले । त्यस बाहेक इन्दु वर्मा आठ रनमा आउट हुँदा कप्तान रुबिना क्षेत्री र डली भट्ट रनको खाता पनि नखोली रन आउट हुन पुगे ।
युगान्डाको तर्फबाट कोन्सीअवेको र फिओनाकुलुमेले समान १-१ विकेट हात पारे ।
टियु क्रिकेट मैदानमा नेपाली राष्ट्रिय महिला टोलीले पहिलो जित दर्ता गराएको छ । युगान्डा विरुद्धको शृंखला अन्तर्गत चौथो खेलमा नेपालले १५ रनको जित हात पारेको हो । पाँच खेलको शृंखलामा ३-० ले पछि पर्दै शृंखला गुमाइसकेको नेपालले चौथो खेल जित्दै शृंखला ३-१ को अवस्था पुर्याएको छ भने क्लिन स्विप हुनबाट पनि बचेको छ ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १७ दशमलब पाँच ओभरमा खेल्दै आफ्ना सबै विकेट गुमाएर ९७ रन जोड्न सके पनि युगान्डाले पुरै १८ ओभर खेल्दै आठ विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो । ढिला गरेर सुरु हुँदा खेल १८ ओभर प्रति टोलीमा घटाइएको थियो ।
युगान्डालाई रोक्ने क्रममा आजको खेलमा नेपालको लागि डेब्यु गरेकी हिरनमयी रोयले सर्वाधिक दुई विकेट हात पारिन् भने अस्मिना कर्माचार्य, रुबिना क्षेत्री र कविता कुँवरले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए । खेलको प्लेयर अफ द म्याच घोषित रोयले तीन ओभरमा ११ रन खर्चिन् । त्यस्तै अस्मिनाले दुई ओभरमा ६ रन दिँदा रुबिनाले चार ओभरमा १६ तथा कविताले तीन ओभरमा १७ रन खर्चिन पुगे ।
यस अघि नेपालको लागि विकेट किपर तथा ओपनर ज्योति पाण्डेले १३ बलमा सर्वाधिक १७, बिन्दु रावलले १६ तथा सिता राना मगरले ११ रनको पारी खेले भने अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन निकाल्न सकेनन् ।
नेपालका अन्य ब्याटरमा डली भट्ट, कविता कुँवर र अस्मिना कर्माचार्यले समान ६-६ रन जोडे भने, अप्सरी बेगमले चार, सरिता मगरले दुई, रुबिना क्षेत्री र इन्दु वर्माले१-१ रन भन्दा निकाल्न सकेनन् ।
युगान्डाकी जानेटएमबाबाजीले सर्वाधिक २१ रन जोडिन् भने अन्यले उल्लेख्य योगदान दिन सकेनन् । यस अघि कोन्सीअवेकोले तीन तथा साराहअकिटेङले दुई विकेट निकाल्दा नेपाल सामान्य योगफलमा नै रोकिएको थियो ।