सन्दिप लामिछानेको काठमाडौं किंग्स ११ प्रतियोगिताबाट बाहिरिसकेको बिराटनगर वारियर्ससँग ७ रनले पराजित भएपछि एभरेष्ट प्रिमियिर लिगको प्लेअफ समिकरण रोमाञ्चक बनेको छ ।
लगातार दोश्रो खेलमा हार व्यहोरेको काठमाडौंको ८ ओभरमा छोट्याइएको खेलमा १०५ रनको बिशाल लक्ष्य पछ्याउने क्रममा ९७ रनमै रोक्किएको थियो । पहिलो ब्याटिङ्ग गरेको बिराटनगरले पाँच विकेटको क्षतिमा १ सय ४ रन बनाएको थियो ।
काठमाडौंको तीन खेलबाट मात्रै दुई अंक रहेको छ । दुई खेल खेल्न बाकी रहेको स्थितिमा काठमाडौं भन्दा अगाडी ललितपुर पेट्रियट्स (३), भैरहवा ग्लेडियेटर्स (४) र पोखरा राइनोज (५) रहेको छ ।
चितवन टाइगर्सले दुई खेल बाकीँ रहदै प्लेअफमा स्थान बनाइसकेको छ । ललितपुरले अन्तिम खेलमा आइतबार नै चितवनको सामना गर्दैछ । पोखराले पनि एक खेल खेल्न बाकी रहेको छ भने भैरहवाको हातमा दुई खेल छ ।
अनिल कुमार साहले एभरेष्ट प्रिमियर लिगकै सबैभन्दा छरितो मध्येको एक इनिङ्गस खेल्दा बिराटनगरको लागि पहिलो जितको आधार खडा भएको थियो । अन्तिम ओभरमा जितेन्द्र मुखियालाई तीन छक्का प्रहार गरेका अनिलले १६ बलमै नटआउट ४५ रन बनाएका थिए ।
अनिलले कुल पाँँच छक्का र दुई चौका प्रहार गरे । बिराटनगरलाई तिब्र शुरुवात भने ओपनर रायन पठानले दिएका थिए । रायनले ११ बलमै ३० रन बनाए । उनले तीन छक्का र दुई चौका प्रहार गरे ।
कप्तान करण केसीले ११ बलमा १५ रन जोडे । काठमाडौंका लागि गुल्शन झा, रायन बर्ल र कप्तान सन्दिप लामिछानेले १–१ विकेट लिए ।
रहमनुल्लाह गुर्बाजले राजु रिजालसँग पहिलो विकेटका लागि तीन ३९ रन जोडे पनि प्रतिस जिसीले अफगानी ओपनरको विकेट लिएपछि बिराटनगर खेलमा फर्किएको थियो । पठानले एकै ओभरमा जिम्बाब्वे अलराउण्डर रायन बर्ल र असन प्रियान्जनलाई पेभिलियन फर्काएपछि काठमाडौंको हातबाट खेल फुत्किएको थियो ।
पठानले गरेको अन्तिम ओभरमा २६ रन चाहिएको अवस्थानमा सुभाष खकुरेलले शुरुवाती तीन बलमा दुई छक्का र दुई रनका साथ कुल १४ रन जोडेपनि अन्तिम तीन बलमा काठमाडौंले मात्र चार रन बनायो ।
सुभाषले १० बलमा तीन छक्का साथ २६ रन बनाए । गुर्बाजले १५ बलमा तीन चौका र एक छक्काको मद्दतमा २८ रन बनाए भने राजु १५ बलमा २४ रन बनाउदै नटआउट रहे । राजुको नाममा दुई चौका र एक छक्का रह्यो ।