एकै क्लबका लागि सबैभन्दा बढी गोल गर्ने किर्तिमानमा ब्राजिलियन लेजेण्ड पेलेको बराबरी गरेका लियोनल मेस्सीले शनिबार बार्सिलोनाका लागि ६ सय ४३ औं गोल गरे ।
तर फुटबलका सर्वाधिक महान गोलकर्ता को हुन् ?
भ्यालेन्सियाबिरुद्ध २–२ गोलको बराबरी खेल्दा पहिलो हाफमा पेनाल्टीमा चुकेपछि मेस्सीले दोश्रो हाफको शुरुवातमा नै जोर्डी आल्बाको क्रसमा बार्साको लागि किर्तिमानी गोल गरे । १९७४ मा न्युयोर्क कसमस जानुअघि पेलेले सान्तोसका लागि उक्त किर्तिमान कायम गरेका थिए ।
बार्सिलोनाका लागि ७४८ खेल खेलेका मेस्सीले १ दशमलव १६ को औषतमा गोलहरु गरेका छन् । पेलेले १ दशमलव १७ को औषतले ७ सय ५७ खेलमा आफ्ना गोलहरु गरेका हुन् । “मेस्सीको तथ्यांक हेर्ने हो भने निकै प्रभावशाली छ । मलाई लाग्दैन बार्साका लागि यसरी असर पार्न सक्ने खेलाडी फेरि हुनेछन् । यही कारणले मेस्सी नम्बर वान खेलाडी हुन् । उनले क्लबको लागि जे गरे निकै प्रभावशाली छ,” बार्सा प्रशिक्षक रोनाल्ड कोमनले भने ।
मेस्सीले फुटबल इतिहासको पाना अपडेट नगरेको बिरलै कुनै एउटा सिजन होला । जुलाई १ मा एट्लेटिको म्याड्रिडबिरुद्ध खेल्दा उनले निकै चातुर्यता पुर्वक प्रहार गरिएको पनेंका पेनाल्टीमार्फत उनले व्यवसायिक करिअरको ७ सयौं गोल गरेका थिए ।
बार्सिलोनाका लागि मेस्सीले पहिलो गोल गरेयता १५ बर्ष भन्दा बढी भइसकेको छ । मे १, २००५ को स्पेनिस ला लिगामा उनले अल्बासेटेबिरुद्धको २–० को जितमा उनले पहिलो पटक बार्सिलोनाका लागि गोल गरेका थिए ।
तर यही अगष्टमा उनले क्लब छोड्ने धम्की दिदा उनको क्याटलोनियासँगको लभ अफेयर अमिलो बन्दै गएको थियो । हालको सम्झौता समाप्त हुने हुदा मेस्सी जुलाई १, २०२१ मा फ्रि एजेन्टको रुपमा बार्सिलोना छोड्न सक्नेछन् ।
अनौपचारिक खेलहरुमा गरिएका गोललाई पनि गनिने हो भने मेस्सीले बार्साका लागि ८ सय १ खेलमा ६ सय ८० गोल गरेका छन् । ६ पटकका बालोन डि ओर अवार्ड बिजेता मेस्सी स्पष्ट रुपमा बार्सिलोनाका सर्वाधिक गोलकर्ता हुन् । २ सय ३० गोलका साथ दोश्रो स्थानमा रहेका सेजार रोद्रिगेजसँग निकै फराकिलो अन्तरले अघि रहेका मेस्सी स्पेनिस च्याम्पियनसिपमा पनि सर्वाधिक गोलकर्ता हुन् ।
उनका पुराना प्रतिद्वन्दी त्रिष्चियानो रोनाल्डोको ३ सय ११ गोलको तुलनामा मेस्सीको नाममा ४ सय ५० गोल रहेको छ । मेस्सीले बार्साका लागि पनि सबैभन्दा बढी उपाधि जित्ने किर्तिमानमा नाम लेखाएका छन् । उनले जितेका ३४ उपाधिमध्ये चार च्याम्पियन्स लिग रहेको छ ।
ब्राजिलियन लेजेण्ड पेलेको रेकर्डको बराबरी गर्दा तीन हप्ता अघि मात्र आफ्ना पुर्व प्रशिक्षक र अर्जेन्टिनी आइकन डिएगो म्याराडोनालाई गुमाएको मेस्सीको लागि पछिल्लो उपलब्धिले बिशेष महत्व राखेको छ ।
“फुटबलमा केही राजकुमारहरु हुन्छन् तर किँग एक मात्र हुन्छ,” बर्तमान बिश्व फुटबलको सुपरस्टार खेलाडी को भन्ने बिषयमा पेलेले यसै बर्ष नाम नलिएर भनेका थिए । ८० बर्षिय पेलेले शनिबार मेस्सीलाई बधाई पनि दिएका थिए ।
“एउटै क्लबलाई यति लामो समय माया गरिरहने कथा दुर्भाग्यपूर्णरुपमा फुटबलमा निकै दुर्लभ हुने गर्छ । म तिम्रो निकै सराहन गर्छु, लियो मेस्सी,” पेलेले भने ।
तर पेलेको नाममा अझै पनि केही किर्तिमानहरु रहेका छन् ।
आफ्नो पुरै करिअरमा आधिकारिक खेलहरुमा ७ सय ५७ देखि ७ सय ६७ गोलसम्म गरेका पेले अझै पनि सबैभन्दा बढी गोल गर्ने खेलाडीहरुको सुचीमा क्रिष्चियानो रोनाल्डो (७ सय ५६) र मेस्सी (७ सय १४) भन्दा धेरै अगाडी छन् । औपचारिक र अनौपचारिक रुपमा खेलिएका खेलहरुबाट पेलेले एक हजार भन्दा बढी गोल गरेका छन् ।
तर आधिकारिक खेलहरुलाई मात्र गणना गरिने हो भने पेले आफै पनि पुर्व अष्ट्रियन र चेकोस्लोभाकियाका स्ट्राइकर जोसेफ बिकनभन्दा पछाडी रहेका छन् । आफ्नो तीन दशकको सकृय फुटबल करिअरमा बिकनले ८ सय ५ गोल गरेका थिए ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको बागमती प्रदेशले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा अलराउण्ड प्रदर्शन गर्दै लगातार दोश्रो जित हात पारेको छ ।
बागमतीले सोमबार त्रिवी मैदानमा सुदुर पश्चिम प्रदेशलाई १ सय ८० रनको फराकिलो अन्तरले पराजित गर्यो । पहिलो ब्याटिङ्ग गरेको बागमतीले पुर्व अण्डर १९ कप्तान तथा राष्ट्रिय खेलाडी पृथु बास्कोटाको उत्कृष्ट इनिङ्गसको मद्दतमा ५० ओभरमा ९ विकेट गुमाई २ सय ९९ रनको बिशाल योगफल खडा गर्यो ।
रामनरेश गिरीले आफ्नो पहिलो चार ओभरको स्पेलमा घातक बलिङ्ग गर्दै चार विकेट लिएपछि चार रनमै पाँच विकेट गुमाएको सुदुरपश्चिमले २१ ओभरमा १ सय १९ रनमात्रै बनाउन सक्यो । सुदुरपश्चिमले पहिलो चार विकेट मात्रै एक रनमा गुमाएपछि उ शुरु देखि नै दवाबमा आएको थियो ।
अर्जुन साउद र किरण ठगुन्ना (२४) ले ५९ रनको साझेदारी गर्दै केही सम्हाल्ने प्रयास गरेपनि नन्दन यादवले एकै ओभरमा दुई विकेट लिदै सुदुरपश्चिमको पुनरागमनको ढोका बन्द गरिदिएका थिए । अर्जुनले २८ बलमा तीन छक्का र एक चौकाको मद्दतमा ३१ रन बनाए ।
६३ रनमा ७ विकेट गुमाएको स्थितिमा नारायण जोशीले केही आक्रमक ब्याटिङ्ग गर्दै सुदुरपश्चिमका लागि तीन अंकको स्कोर नघाएका थिए । पाँच छक्का र एक चौका प्रहार गरेका नारायण २९ बलमा ४४ रन प्रहार गर्दै नटआउट रहे ।
रामनरेशले पाँच ओभरमा ३२ रन खर्चदै चार विकेट लिए ।
यसअघि पारस खड्का (२०) र आकाश थापा (१३) लाई ६० रनको अवस्थामा गुमाएको बागमतीलाई पृथु र अर्का ओपनर आदिल खानले १ सय ९ रनको शान्दार साझेदारी गर्दै इनिङ्गस सम्हालेका थिए ।
सम्हालिएर ब्याटिङ्ग गरेका आदिलले ८६ बलमा ६३ रन बनाउदा १० चौका प्रहार गरेका थिए । पृथुले त्यसपछि इशान पाण्डेसँग ३९ रनको साझेदारी गरेका थिए । यो प्रतियोगितामा निकै सकारात्मक बडी ल्याङ्गवेजमा देखिएका पृथुले ९४ बलमा ८४ रन बनाएका थिए । उनले १० चौका र दुई छक्का प्रहार गरे ।
पृथुले आइतबार पुलिसबिरुद्धको खेलमा पनि नटआउट ४८ रन बनाएका थिए । २ सय ११ रनमा पाँच विकेट गुमाएको बागमतीलाई त्यसपछि ज्ञानेन्द्र मल्ल र बिपिन आचार्यले ६२ रनको साझेदारी गर्दै ३ सय नजिक पगेका थिए । दुवै जनाले समान ३२ रन बनाएका थिए ।
नारायणले तीन विकेट पनि लिएका थिए भने भोज राज भट्ट र सन्तोष भट्टले २–२ विकेट हात पारे ।
गण्डकी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश १ माथि दुई विकेटको संघर्षपूर्ण जित हात पारेको छ । पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग ९८ रनले पराजित भएको गण्डकीको प्रतियोगितामा यो पहिलो जित हो ।
बिशाल पौडेलले ह्याट्रिक सहित चार र सुभाष भण्डारीले पनि चार विकेट लिएपछि गण्डकी १ सय २ रनमै समेटिएको थियो । पहिलो दुई विकेट तीन रनमै गुमाएपछि अर्जुन कुमाल र दिपक डुम्रेले अद्र्धशतकीय साझेदारी गरेपछि सम्हालिएको गण्डकीले ८ विकेटको क्षतिमा ३७ औं ओभरमा लक्ष्य प्राप्त गरेको थियो ।
आर्मीबिरुद्ध पनि संयमित खेल खेल्दै ३६ रन बनाइ वाह वाही लुटेका अर्जुनले सोमबार पनि ३५ रन बनाएका थिए । ६८ बलको सामना गरेका उनले पाँच चौका प्रहार गरे । दिपकले पनि ९४ बलमा चार चौकाको मद्दतमा ३५ रन बनाए । तल्लो क्रम चल्न नसकेपछि अभिषेक थापाले १३ रन बनाउदै टिमलाई जित दिलाएका थिए ।
प्रदेश १ को यो लगातार दोश्रो हार हो । उसले पहिलो खेलमा पनि एपिफसँग १ सय ८ रनमै समेटिएको थियो । सात जना अण्डर २१ का खेलाडीहरु रहेको गण्डकीबिरुद्ध प्रदेश १ ३० ओभर पनि टिक्न सकेन ।
बिशालले २८ औं ओभरको दोश्रो, तेश्रो र चौथो बलमा ह्याट्रिक लिएपछि प्रदेश १ प्रतियोगिताकै न्युनतम योगफलमा समेटिएको हो । यस्तै कप्तान बिपिन क्षेत्रीले दुई विकेट लिएका थिए ।
प्रदेश १ का लागि कप्तान सिद्धान्त लोहनीले सर्वाधिक २४ रन बनाएका थिए । ३१ बलको सामना गरेका उनले एक छक्का र एक चौका प्रहार गरेका थिए । ओपनर मिनास थापाले ३४ बलमा २२ रन बनाए ।
पुर्व जर्मन मिड्फिल्डर मेसुट ओजिलले अन्तत: प्रिमियर लिग क्लब आर्सनल छोडेका छन् । ओजिल आर्सनल छोड्दै टर्किस क्लब फेनरबाचे पुगेका हुन् ।
अन्तिम पटक अघिल्लो वर्ष मार्च ७ मा वेष्ट ह्याम विरुद्ध १-० को जित निकाल्दा आर्सनलका लागि खेलेका ओजिलले त्यस पछि आर्सनलका लागि एक खेल पनि खेलेनन् । उनको ट्रान्सफर फि नखुलाए पनि उनी आफ्नो बल्यकालमा समर्थन गरेको क्लब फेनरबाचे पुगेका हुन् ।
३२ वर्षिय ओजिललाई आर्सनल छोडे पछि सन्यास लिने वा अन्य कुनै क्लब जाने बारे सोधिएको प्रश्नमा उनले उत्तर दिदै अमेरिका वा टर्कीमा फुटबल खेल्ने बताएका थिए । “मेरो यो समयमा सन्यास लिने कुनै योजना छैन मलाई सन्यास लिनु भन्दा अगाडि दुई देशमा फुटबल खेल्न मन छ, अमेरिका र टर्कि,” उनले भनेका थिए ।
“म टर्कीमा खेल्ने भए पक्का फेनारबाचे जाने छु,” उनले भनेका थिए ।
ओजिलले आर्सनलका लागि १ सय ८४ खेल खेल्दै ३३ गोल गरेका छन् ।